
थानेश्वर अधिकारी । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।
सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ।
साउनको सोमबारमा लक्ष्मणघाट बोलबमधाममा भक्तजनको भीड
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ६ मा पर्ने ऐतिहासिक तथा धार्मिक तिर्थस्थल लक्ष्मणघाटमा असार १८ गते गुरुपूर्णिमा देखि रिषि तर्पणी जनैपूर्णिमा सम्म एक महिनाका लागि बोलबम मेला संचालन भएको छ ।
बिगतका बर्षहरुमा झै यस बर्षपनी कपिलवस्तु रुपन्देही, दाङ, अर्घाखाँची जिल्ला लगायत छिमेकी देश भरतबाट समेत श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । मेलामा आई भक्तजनहरु रातभरी भजन किर्तन गरी बिहान सबेरै उठेर मन्दिरका पुजारीबाट जल संकल्प गरी जलार्पण गर्ने गर्दछन् ।
हरेक हप्ताको आइतबार साँझ मेला देखी सोमबार बिहान सम्म बोलबमधाम मेलामा बिभिन्न स्थानबाट मेला भर्न आउने तिर्थालु भक्तजनहरुको भिड लाग्ने गर्दछ । सो मेलालाई व्यवस्थित बनाउन बिभिन्न बिषयगत समितिहरुले सक्रियतापुर्वक काम गरेको लक्ष्मणघाट बोलबमधाम विकास समिति अध्यक्ष रन बहादुर काउचाले जानकारी दिनुभएको छ ।
सो मेलामा बाणगंगा नगरपालिका वडा नं. ६ भित्रका टोल विकास संस्था, महिला समुह, सञ्जालहरुले पालै पालो मेलामा सहयोग गरेको लक्ष्मणघाट बोलबमधाम विकास समितिका सचिव प्रकाश भुसालले जानकारी दिनुभएको छ ।

