कपिलवस्तुमा अनुदानको ५४ बोरा रासायनिक मल सहकारीका अध्यक्षको ससुराली घरमा

[sharethis-inline-buttons]

लुदस,बाणगंगा ।
कपिलवस्तुमा सरकारले अनुदानमा दिने गरेको रासायनिक मल वितरणमा अनियमितता देखिएको छ । यसरी अनियमितता गर्नेमा मल वितरणको अनुमति पाएका कृषि सहकारी रहेका छन् । अहिले धान रोप्ने सिजनमा मलको अभाव भैरहेका बेला कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ लवनीमा रहेको एक कृषि सहकारीले कृषि सामग्री केन्द्र तौलिहवाबाट लगेको मल आफ्ना मान्छेको घर पुर्याएको पाइएको छ । यो कुराको बारेमा लुम्बिनी दर्पण साप्ताहिकका प्रकाशक मोहन बेलबासेले सार्वजनिक गरेका छन् । सोमबार साँझ उनले फेसबुकमा यो कुरा सार्वजनिक गरेका हुन् । नेपाल पत्रकार महासंघका कोषाध्यक्ष समेत रहेका उनका अनुसार तौलिहवाबाट लगेको मल ओम कृषि सहकारी संस्थाले आफन्तको घरमा पुर्याएको छ ।

यो थाहा पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको पनि उनले लेखेका छन् । उनका अनुसार सहकारीका अध्यक्ष भगिरथी यादवले तौलिहवाबाट लगेको ५४ बोरा रासायनिक मल ससुराली घर शुद्धोधन ६ मा रहेको बनारसी यादवको घरमा लगेर राखेका छन् । सहकारी अध्यक्षले भने पानी परेपछि सुरक्षाको लागि गोदाम नभएर ससुराको घरमा लैजानु परेको बताएका छन् ।

बेलबासेले फेसबुकमा लेखेका छन् ‘कपिलवस्तुको शुद्दोधन गाउँपालिका ३ लवनीमा रहेको ओम कृषि सहकारी संस्थाको नाममा कृषि सामग्री केन्द्र तौलिहवाबाट लगेको ५४ बोरा रासायनिक मल अध्यक्ष भगिरथी यादवले आफ्नो ससुराली घर शुद्धोधन ६ मा रहेको बनारसी यादवको घरमा राखेपछि प्रहरीले अनुसन्धान थालेको छ ।

यादवले सहकारीको गोदाम पानी चुहिने भएको हुँदा ससुरालीमा राखेको र भोली बाड्न किसानलाई खबर गरेको बताएका छन् । ईलाका प्रहरी कार्यालयको टोलीले रासायनिक मल बरामद गरी अनुसन्धान थाल्ने जनाएको छ ।’


प्रकाशित : २०८० श्रावण २, मंगलवार १४:१५