काठमाण्डौ महानगरले तोक्यो पार्किङ शुल्क

[sharethis-inline-buttons]

लुदस,काठमाण्डौ ।
काठमाण्डौ महानगरपालिकाले दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडीको पार्किङ शुल्क निर्धारण गरेको छ । सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सेवाग्राहीको गुनासो सुनुवाइ गर्न र गाडीको पार्किङ शुल्कमा एकरूपता ल्याउन शुल्क निर्धारण गर्नुपरेको बताए । उनका अनुसार काठमाण्डौ महानगरभित्र दुई पाङ्ग्रे गाडीको आधा घण्टाको पार्किङ शुल्क १५ रुपैयाँ निर्धारण गरिएको छ । एक घण्टाको २५ रुपैयाँ र एक घण्टाभन्दा बढी भएमा हरेक १५ मिनेटमा पाँचरपाँच रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उपमेयर डंगोलले बताइन् । यस्तै चार पाङ्ग्रे गाडीले आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । एक घण्टाको ७५ रुपैयाँ र एक घण्टाभन्दा बढी भएमा हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ ।

उपमेयर डंगोलले महानगरको न्यायिक समितिमा कोठा र पसलको शटर बन्द गराई भाडा असुल गरिदिनका लागि उजुरी दिनेको सङ्ख्या बढेको पनि बताइन् । पछिल्ला दिनमा आर्थिक मन्दीका कारण पनि त्यो उजुरी न्यायिक समितिमा झन्डै दोब्बरले बढेको उनले बताइन् । हरेक १० वटा उजुरीमध्ये आठ वटा उजुरी कोठा र शटर बन्द गराई भाडा दिलाई पाउँ भन्ने खालको आउने गरेको महानगरपालिकाले बताएको छ ।

उपमेयर डंगोलले न्यायिक समितिमा भाडा तिर्न नसकेर सहकारीलगायतका संस्थाहरू भागेको उजुरी पनि आउने गरेको बताएकी थिइन् ।


प्रकाशित : २०८० श्रावण २, मंगलवार १४:१९