
हरि आचार्य, कपिलवस्तु
यहि साउन ८ गते राती भएको बर्षाका कारण आएको बाढीबाट क्षति पुगेका घरपरिवारलाई सहयोग सामग्री वितरण गरिएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, संयुक्त राष्ट्र जनसंख्या कोष (यु.एन.एफ.पि.ए.) को सहयोग तथा बाणगंगा नगरपालिका वडा नं. ७ को समन्वयमा वडाका बाढीबाट पिडित परिवारलाई सहयोग सामग्री प्रदान गरिएको हो ।
वडाका १ सय परिवारलाई डेंगीबाट बच्नका लागि झुल प्रदान गरिएको छ भने ४ जना अपांगता भएका महिला, ३ जना गर्भवती महिला, १ जना सुत्केरी महिलालाई मर्यादा किट हस्तान्त्रण गरिएको हो ।
सन्देशमुलक सामग्री प्रदान गर्दै यौन तथा प्रजनन स्वास्थ्य, लैगिंक हिंसा, विभेद नगरौं, अपांगता भएकालाई सहयोग गरौं, सामाजिक सद्भावना कायम गरौं लगायतका बिषयमा सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम सुपरभाईजर निस्ता थापाले जानकारी सहित सचेत गराउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले राहत सामग्री हस्तान्त्रण गर्दै विपदको समयमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले नगरपालिका र वडाले यस अगाडि राहत वितरण गरिसकेको बताउँदै नगरवासीको विपदमा नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । उहाँले राहत सामग्री प्रदान गरेकोमा सिद्धार्थ सामाजिक विकास केन्द्र, युएनएफपिए परिवारलाई आभार प्रकट गर्नुभयो ।
त्यस्तै कार्यक्रममा युएनएफपिए लुम्बिनी प्रदेश लैंगिक कार्यक्रम विश्लेशक केश बहादुर मल्ल र युएनएफपिए कपिलवस्तु जिल्ला कार्यक्रम अधिकृत सञ्जय शर्माले यौन तथा प्रजनन स्वास्थ्य, लैगिंक हिंसा सम्बन्धी सचेत गराउँदै यो सानो सहयोग मात्र रहेको र आगामी दिनमा पनि साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँहरुले यो विपदको समयमा अन्य नकारात्मक सोंचाई र व्यवहारबाट टाढा रहन अनुरोध गर्नुभएको थियो ।
त्यस्तै सिद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष त्रिलोचन घिमिरेले यस्ता विपदका घट्नाहरुबाट क्षति पुगेका परिवारलाई सहयोग गर्नका लागि संस्था सधै तयार रहेको बताउनुभयो ।
कोईली बनगाई टोल विकास संस्थाका अध्यक्ष तिलक बहादुर काउचाको अध्यक्षता, युनएफपिए यौन तथा प्रजनन स्वास्थ्य सल्लाहकार सुरेश देवकोटा, वडा सदस्य मुम बहादुर पाण्डे, सावित्रा थारु, पार्वती सुनार लगायतको आतिथ्यता रहेको कार्यक्रममा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

