कोटेश्वर ट्राफिक प्रहरी प्रमुख तामाङको सरुवा

[sharethis-inline-buttons]

काठमाण्डौ । प्रहरी निरिक्षक किशोर तामाङ आफ्नो साँढे पन्ध्र महिनाको कार्यकाल पुरा गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा भएका छन् । २०७९ बैशाख मा कोटेश्वर ट्राफिक प्रमुखको रुपमा कार्यभार सम्हाल्न आईपुगेका प्रहरी निरिक्षक तामाङ यही भाद्र ३ गते जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा भएका हुन्।

काठमाण्डौं उपत्यकाको अति ब्यस्त मानिने कोटेश्वर(जडिबुटी) ,नयाँबानेश्वर सडक खण्डमा प्रहरी निरिक्षक तामाङले थुप्रै देखिने खालका सुधारहरु गरेका छन् । कोटेश्वर र जडिबुटी चोकमा वर्षौं पहिला जडान गरिएका तर सञ्चालनमा ल्याउन नसकेको ट्राफिक बत्तीलाई सञ्चालनमा ल्याउन ईन्स्पेक्टर तामाङ सफल भएका छन् । सो स्थानहरुको ट्राफिक ब्यवस्थापन आफैंमा चुनौतीपुर्ण काम हो भने त्यस्तो ठाँउमा प्रबिधीको प्रयोग मार्फत ट्राफिक ब्यवस्थापन गर्नु झन ठुलो चुनौतीको काम हो । ट्राफिक बत्ती सञ्चालन गर्दा र नगर्दाको फरक सम्बन्धमा सो रुट भएर नियमित चल्ने नेपाल यातायातको एक चालक संग प्रतिकृया लिदा यस क्षेत्रमा ट्राफिक लाईट सञ्चालन पश्चात बिगतको जस्तो जाम नहुने गरेको र चालकहरु पनि थप अनुशासित हुने गरेको प्रतिकृया दिए ।

स्थानिय कुमार श्रेष्ठका अनुसार ईन्स्पेक्टर तामाङ कै पहलमा सुबिधानगरको सर्भिस लेन खोली यात्रु तथा चालकलाई सहज बनाउने काम भएको बताए। त्यसै गरी नयाँबानेश्वर चोकको दुवै तर्फको सर्भिस लेनमा रोकिने सवारी साधनमा समेत आजकल ट्राफिक व्यवस्थापनको नमुना देख्न सकिन्छ । सो सर्भिस लेनमा अरनिको राजमार्ग चल्ने सम्पुर्ण सवारी साधनहरु रातो बत्तीमा रोकिएको बेला दुवै तर्फ बायाँ मोडिने सवारी साधनलाई असर नपुग्ने गरी साईडमा एक ताँतीमा रोकिएको देखिन्छ । त्यहाँ सिधा गुड्ने सवारी साधन आफ्नो लेनमा मात्र ताँती लागेर अडेको दृष्य वास्तबमा हेर्नलायक नै हुन्छ । त्यसै गरी जडिबुटी(पेप्सिकोला) खण्डमा पेप्सिकोलाबाट जडिबुटी आउने सवारी साधनलाई लेन अनुशासनमा राखिएको देख्न सकिन्छ ।

सो स्थानमा बिगतमा सवारी साधनले लेन अनुशासन कायम नगर्दा लेनमा आउने अनुशासित सवारी साधनका चालकहरुले लामो समय सम्म सास्ती ब्यहोर्नु पर्थ्यो तर आजकाल सो समस्याबाट मुक्ति मिलेको छ । आफ्नो कार्यकाल भरी प्रायःसडक मै देखिने ईन्स्पेक्टर तामाङलाई प्रहरी प्रधान कार्यालयले नियमित सरुवाको क्रममा गत श्रावण ३० गते जिल्ला प्रहरी कार्यालय मोरङ सरुवा गरेको हो ।


प्रकाशित : २०८० भाद्र ५, मंगलवार १०:४१