कपिलवस्तुको नन्दनगरमा २९ औँ धनधान्यञ्चल ज्ञान महायज्ञ सुरु

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु

कपिलवस्तुको नन्दनगरमा आज सोमबार देखि २९ औँ ज्ञान महायज्ञ सुरु भएको छ । मनकामना संस्कृत गुरुकुल प्रवद्र्धन समाजको आयोजनामा मनकामना संस्कृत विद्यापिठमा २९ औँ श्री मत्स्यपुरायण पाठपारायण तथा श्रीमद्भागवत धनधान्यञ्चल ज्ञान महायज्ञ सुरु भएको हो । आजदेखि सुरु भएको महायज्ञ मंसिर १७ गते सम्म चल्ने छ ।

महायज्ञको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले कैलास आश्रमलाई विदेशीहरुको समेत गन्तव्य स्थल बनाउनु पर्ने बताउनु भयो । कैलास आश्रममा देशका विभिन्न ठाउँ बाट मात्र नभएर विदेशी राष्ट्रहरु बाट समेत भक्तजन र पर्यटक आउन सक्ने बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

बाणगंगामा पर्यटनको सम्भावना प्रसस्त भएपनि हामिले व्यवस्थापन गर्न नसकेको उहाँले स्विकार गर्नुभएको छ । हमिले यहाँ आएका पर्यटक र भक्तजनलाई नजिकै रहेको भागिरथ नदिमा नुहाएर मनकामना संस्कृत विद्यापिठमा विभिन्न ज्ञान गनुका कुरा सिक्ने थलो बनाउनु पर्नेमा उहाँको जोड रहेको थियो ।

त्यस्तै प्रदेश सांसद विष्णु पन्थीले पछिल्लो समय धेरै मानिसहरु स्वार्थि र घमण्डी हुदै गएको भन्दै त्यस्ता नकारात्मक स्वभाव हटाउन यस्ता महायज्ञले सहयोग गर्ने बताउनु भयो । गुरुकुल र महायज्ञ अभिन्न अङ्ग रहेको भन्दै मन, मस्तिष्क र कर्मलाई सफा पार्दै सकारात्मक सोचको वृद्धि गर्नपनि महायज्ञ महत्वपुर्ण हुने उहाँले बताउनुभयो । कैलास आश्रमलाई धार्मिक पर्यटनको क्षेत्रमा धेरै माथि उठाउने आफुहरुको परिकल्पान भएपनि सरकार परिवर्तनका कारण योजना अनुसार काम गर्न नसकेको उहँले बताउनुभयो ।

त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले स्थापना कालदेखि नै यो संस्थाले उत्कृष्ट कार्य गर्दै आइरहेको भन्दै यत्तिमा नरोकिने जिकिर गर्नुभयो । प्रदेशमै सबैभन्दा ठुलो गुरुकुल आफ्नो वडामा रहेको भन्दै यसलाइ देशकै सबैभन्दा ठुलो गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । नगर प्रवक्ता समेत रहनुभएका पौडेलले विविध कारणले पहिलो कार्यकालमा सोचे जति काम गर्न नसकेपनि अब भने वडा अध्यक्षले केहि गर्यो है भन्ने किसिमले देखिनेगरि काम गर्ने बताउनुभयो ।

महायज्ञ पूर्व बिहान मिरमिरे महिला बचत तथा ऋण सहकारी संस्थाकी सचिव गङ्गा भट्टराईकोको संयोजकत्वमा वैरिया सिमलपानी चोकबाट बाजागाजासहितको कलस यात्रा गरिएको थियो । कलस यात्रा राजपुर नन्दनगर हुँदै महायज्ञ स्थलमा गई सभामा परिणत भएको थियो । यात्रामा बिभिन्न विद्यालयका विद्यार्थी तथा संघसंस्थाले सांस्कृतिक झलक दिएका थिए ।महायज्ञमा साँझ दैनिक रात्रीकालिन भजनकिर्तनको कार्यक्रम हुने छ ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, वडा सदस्य टोपकला वि।सी, संस्थाका पदाधिकारी, विद्यापिठ व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, वटुक, विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत कयौँ स्थानिय तथा भक्तजनहरुको उपस्थिती रहेको थियो ।

महायज्ञको उद्घाटन सत्र संस्थाका अध्यक्ष रविराज ज्ञवालीको अध्यक्षता, संस्थाका सचीव जगत राज रेग्मिको सञ्चालन तथा संस्थाका वरिष्ठ उपाध्यक्ष बालकुमारी पन्तको स्वागतमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० मंसिर १२, मंगलवार ०८:३१