भूकम्प प्रभावित क्षेत्रमा चिसोको मारः सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक समस्यामा

[sharethis-inline-buttons]

लुदअ, काठमाण्डौ
कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार भूकम्पपछि सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएका छन् ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा। रविन खड्काका अनुसार भूकम्पले क्षति गरेका जाजरकोट र रुकुम पश्चिममा चिसो बढेसँगै विशेषगरी गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र पाँच वर्षमुनिका बालबालिका थप समस्यामा परेका छन् ।

जाजरकोटमा मात्रै एक हजार आठ सय ८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् । त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा रहेका छन् । एक हजार आठ सय ३२ दीर्घरोगी, आठ सय ५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यामा परेका छन् ।

त्रिपालको सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । केही भूकम्प पीडितको चिसोका कारण ज्यानसमेत गएको छ । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ ।

रुकुम पश्चिममा पनि समस्या उस्तै छ । त्यहाँको पनि पूर्ण विवरण लिने काम भइरहेको छ ।

गएको ७ गतेभित्र पालिकाबाट क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरे पनि अझै विवरण आउन सकेको छैन । छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्याङ्क सङ्कलन गर्न समय लागेको जनप्रतिनिधिले बताएका छन् ।

पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्याङ्क सङ्कलनमा ढिलाइ भइरहेको उनीहरुको भनाइ छ । अबको एकरदुई दिनभित्र सबै विवरण आउनसक्ने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

 


प्रकाशित : २०८० मंसिर १२, मंगलवार ०८:४२