बाणगंगामा महिला पुरुष समविकास तालिमको समापन, लैगिंक हिंसा न्युनिकरण गर्ने उद्देश्य

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिकामा महिला पुरुष समविकास तालिमको समापन गरिएको छ । श्री सिद्धिपुर सामाजिक महिला विकास संस्था बाणगंगा ४ को आयोजना तथा बाणगंगा नगरपालिकाको सहयोगमा लैगिंक हिंसा न्युनिकरण गर्ने उद्देश्यले सञ्चालित महिला पुरुष समविकास तालिमको समापन गरिएको हो । तालिममा लिंगका आधारमा हुने हिंसाका प्रकार, कारण तथा न्युनिकरण गर्ने उपायहरुको बारेमा प्रशिक्षण दिइएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका उप–प्रमुख रीता कुमारी चौधरीले नगरपालिकालाई लैगिंक हिंसा मुक्त नगर बनाउँनका लागि यो कार्यक्रमले अहम भुमिका खेल्ने बताउनुभयो । उप प्रमुख चौधरीले भौतिक विकास निर्माणले मात्र नगरपालिका समृद्ध नहुने भन्दै सामाजिक रुपान्तरणका कार्य पनि निरन्तर गरिरहेको बताउनुभयो । उहाँले महिलाहरुलाई क्षमता विकास मात्र नभएर सीपमुलक तालिमहरु सञ्चालन गरि रोजगारीमा जोड्नका लागि प्राथमिकताका साथ कार्य गरिरहेको बताउनुभयो । उप प्रमुख चौधरीले नगरपालिकामा यो नौलो कार्यक्रमको रुपमा रहेको बताउँदै तालिममा सिकेका ज्ञानलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त तालिममा मानव अधिकार एलाईन्सका केन्द्रिय सचिव रोमकान्त घिमिरेले प्रशिक्षकको रुपमा रहनुभएको थियो । उहाँले सहभागीलाई प्रशिक्षण दिंदै लैगिंक हिंसाका प्रकार, कानुनी व्यवस्था तथा न्युनिकरणका उपायहरुको बारेमा स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रमका विशिष्ठ अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका सदस्य सुमित्रा परियारले पुरुषको तुलनमा महिलाहरु पछाडि परेको भन्दै यस्ता तालिमले निकै परिवर्तन हुने बताउनुभयो ।

तालिममा सहभागी बाबुराम कंडेल, निर्मला पौडेल, सबिना खनाल, राम प्रसाद गैरे, सपना गन्धर्व लगायतले मन्तब्य राख्दै तालिम निकै उपयोगी र प्रभावकारी रहेकाले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्ने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष श्री सिद्धिपुर सामाजिक महिला विकास संस्थाका अध्यक्ष सीतादेवी न्यौपानेले कार्यक्रममा सहभागी सम्पुर्णलाई धन्यवाद दिंदै तालिममा सिकेको ज्ञानलाई व्यवहारमा लागु गरि व्यवहारमा परिवर्तन गर्न अनुरोध गर्नुभयो । अध्यक्ष न्यौपानेले महिलाहरु आत्मनिर्भर हुन आवश्यक रहेको बताउदै यस्ता खालका कार्यक्रम संस्थाले आगामी दिनमा गर्ने बताउनुभयो ।

६० जना महिला पुरुषको उपस्थिती रहेको कार्यक्रम श्री सिद्धिपुर सामाजिक महिला विकास संस्थाका सचिव सुनिता सेनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०८० फाल्गुन ७, सोमबार १९:४५