सुरज खरेल
युवा उमेर समूह सम्बन्धमा विश्वव्यापी सहमतीको अन्तर्राष्ट्रिय परिभाषा वा मानक छैन । तथापि, साङ्ख्यिकीय उद्देश्यका लागि संयुक्त राष्ट्रघले ‘युवा’ लाई १५ र २४ वर्षको बीचका व्यक्तिहरूको रूपमा परिभाषित गरेको छ । नेपालको राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षसम्मको उमेर समुहका व्यक्तिलाई युवाका रुपमा परिभाषित गरेको छ ।
यसका आधारमा नेपालमा कुल जनसङ्ख्याको ४० प्रतिशत बढी जनसङ्ख्या युवाको छ । यद्यपि युवाका सन्दर्भमा उमेरलाई मात्र हेरिएको पाइँदैन । उमेरले मात्र होइन विचारले पनि युवा हुनुपर्छ भन्ने मान्यता नेपालमा पनि छ । उमेरसँगै जोस, जाँगर र उत्साहलेले भरिपूर्ण हुनु युवाको विशेषता हो ।
युवा राष्ट्रको मेरुदण्ड हो । युवा राज्यका नेतृत्वकर्ता, नीति निर्माता, प्रशासक, उद्यमी, कर्मचारी तथा देशको आवश्यक जनशक्ति हुन् जसले आर्थिक वृद्धि र विकासलाई अगाडि बढाउँछन् ।
त्यसैले आर्थिक विकासमा युवाको भूमिका अतुलनीय हुन्छ । युवा तयार गर्न लामो समय लाग्ने र युवालाई खपत गर्दा देशको विकास सहज हुने भएकाले नै विकसित देशहरुले युवालाई आफ्नो देशमा ल्याउने कार्यक्रमहरु अघि सारेका हुन्छन् । युवा वेरोजगार हुनु, कुनै पनि पेशा वा काममा युवाको ध्यान नजानु देश विकासमा समस्या सिर्जना हुनु हो ।नेपाल प्रजातान्त्रिक देश हो । देश विकासका लागि सबै क्षेत्रहरूमा युवाको महत्त्वपूर्ण भूमिका हुन्छ ।
युवाले समृद्ध र निर्माणकारी राष्ट्र निर्माणमा भूमिका खेल्दछन् । तर, नेपालको राजनीतिक परिवेशमा युवाहरूलाई सामाजिक, राजनीतिक, र संस्थागत चुनौतिहरू सामना गर्नुपर्ने समस्या छ । युवाहरूको समृद्धिले देशलाई समृद्ध बनाउँछ । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पूरा गर्न युवालाई राजनीतिमा प्रयोग भन्दा अवसर प्रदान गर्न जरुरी छ । कगचबव पजबचभ।िवउन
नेपालको संविधान अनुसार २१ वर्ष पूरा भएको व्यक्ति स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य हुन पाउँछन् । प्रतिनिधि सभाका लागि २५ वर्ष र राष्ट्रिय सभाका लागि ३५ वर्ष उमेर पूरा भएको व्यक्ति उक्त सदनको सदस्य हुन सक्ने संबैधानिक व्यवस्था छ ।
यो संबैधानिक व्यवस्थाले युवाहरूलाई राजनीतिक नेतृत्वमा पुग्न ठूलो अवसर सिर्जना गरिदिएको छ । यद्यपि नेपालमा राजनीतिक सहभागिताका सन्दर्भमा युवाहरूले अनेकौँ चुनौती र अफ्ठ्याराहरु सामना गर्नु पर्ने अवस्था छ । राजनीतिक नेतृत्वमा युवाको उपस्थिति बढाउनका उमेर र शैक्षिक योग्यतालाई प्रमुख आधार मान्ने गरि दलहरुले नै बिधान परिमार्जन गर्न सकेमा मुलुकको नेतृत्व युवामा स्थानान्तरण हुँदै जाने देखिन्छ ।
युवाहरुले पनि आफूलाई शैक्षिक तथा सामाजिक रुपमा रुपान्तरण गर्दै नेतृत्वमा हस्तक्षेपकारी भूमिका खोज्नु पर्छ । “शिक्षित र असल मान्छे राजनीतिमा नआउनुको दण्ड यो हुन्छ कि अयोग्य र अशिक्षित व्यक्तिले तपाई माथी शासन गर्छ ।” भन्ने चाणक्य नीतिलाई बुझेर युवा पलायन हुनु भन्दा शासन सञ्चालन गर्ने ठाउँमा पुग्ने सक्ने गरि युवाले आफूमा दख्खल बढाउन जरुरी छ ।
पन्धौं योजनामा उल्लेख भए अनुसार युवा लक्षित नीति, योजना तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्नु, बजारको माग र जनशक्तिको आपूर्तिबीच सामाञ्जस्य नहुनु, युवा विकासको ठोस योजना नहुनु, युवासँग सम्बन्धित तथ्यांकीय आधार नहुुनु, उद्यमशीलता र रोजगारका अवसर सीमित हुुनु, ठूलो संख्यामा युवा शक्ति विदेश पलायन हुनु जस्ता कुराहरु युवाको विकास, सहभागिता र सशक्तिकरणका सन्दर्भमा देखिएका प्रमुख समस्याहरु हुन् ।
नेपालको राजनीतिक परिवेशमा युवा पलायनको प्रमुख कारण धेरै होलान् तर प्रमुख कारण राजनीतिमा असल संस्कार नहुनु हो । युवालाई प्रशिक्षित गरेर नेतृत्व क्षमता बढाउनु भन्दा उनीहरुलाई राजनीतिमा प्रयोग गरी त्यसबाट लाभ भएको ठान्नु भुसभित्र आगो सल्काउनु जस्तै हो ।
युवाको प्रमुख विशेषता चाकडी गर्न नखोज्नु पनि हो । जसले गर्दा युवले समकालीन राजनीतिक मुद्दाहरुमा अत्यन्तै छिटो समर्थन वा विरोध गरिरहेका हुन्छन् । जसले देश तथा समाजमा बिधिको शासन स्थापित गर्न दिशा निर्देशसमेत गरिरहेको हुन्छ । युवासँग नयाँ विचार र उत्कृष्ट क्षमता हुने भएकाले युवाको राजनीतिक सहभागिताले देशलाई विकासको पथमा डो¥याउन सक्छ । जुनसुकै देशमा पनि विकासको ढोका युवाहरुले नै खोलेको पाइन्छ ।
युवाहरू राजनीतिक प्रक्रियामा सहभागी हुँदा भोग्नु परेका चुनौतिहरूलाई घटाउन युवाले नै आफूलाई चिन्न सक्नु पर्छ । युवाहरूको अनुभव र क्षमता कम हुन्छ यसका लागि युवाहरूले राजनीतिमा अनुभवी नेता र नीति निर्माताहरूसँग राम्रो समन्वय कायम राख्न सक्नु पर्छ । युवाहरूले समाजिक, राजनीतिक, र संस्थागत संरचनाहरूमा प्रभाव पार्न सिर्जना गरिएका चुनौतीहरुको सामना गर्नुपर्दछ ।
युवाहरूले पक्षपातिको भावना, जटिल कानुनी प्रक्रिया र समाजमा हुने अन्याय तथा अत्याचार विरुद्ध बोल्न र लेख्न सक्ने हुनु पर्छ । युवामा हुने ऊर्जा, उत्साह र फरक दृष्टिकोण नै युवाको अमूल्य सम्पत्ति हो । जसलाई राजनीतिका नाममा युवाले मार्नु हुँदैन । राजनीतिक दक्षताका लागि युवा अध्ययनशील हुनु पर्छ । युवालाई ज्ञान र सीपले सुसज्जित बनाउनु सकिएमा युवाको शक्ति सदैब परिवर्तनकारी साबित हुन्छ ।
यसबाहेक युवाहरूलाई राजनीतिमा परिपक्ब बनाउन शिक्षा र नेतृत्व विकासको अवसर प्रदान गर्नुपर्छ । विद्यालय तहबाटै नेतृत्व विकासका विभिन्न अवसरहरु प्रदान गर्दै खुल्ला संवाद र बहसलाई प्रोत्साहन गर्नुपर्छ । उनीहरूलाई अरूको दृष्टिकोण सुन्दै आफ्ना विचार र चिन्ताहरू व्यक्त गर्ने अवसर दिनुपर्छ । आलोचनात्मक सोच र सहकार्यको संस्कृतिलाई बढावा दिएर युवाहरूलाई जटिल राजनीतिक मुद्दाहरू समाधानका सीपहरु सिकाउनु पर्छ ।
युवालाई राजनीतिक आचरणमा इमान्दारिता, पारदर्शिता र सम्मान प्रवद्र्धन गरेर उनीहरूलाई उदाहरणीय बनाउनु पर्छ । नैतिक मापदण्डहरू कायम राखेर प्रतिबद्धता प्रदर्शन गराउँदै जिम्मेवार चेतयुक्त युवाको विकास गर्नुपर्छ । आगामी दिनको दिशानिर्धारण गर्न युवाहरूलाई निर्णय प्रक्रियामा समावेश गराउन आवश्यक छ ।
समाजले पनि युवा आवाज सुन्नुपर्छ । तिनीहरूको दृष्टिकोणको सार पहिचान गरि उनीहरुको विषयत विचारको दायरा फराकिलो बनाउनु पर्छ । नेपालको राष्ट्रको नीति र प्राथमिकताहरू निर्धारण गरी युवाहरूलाई सशक्तिकरण गरेको खण्डमा मात्र देशले विकासको पथमा अघि बढ्न सक्छ ।
(लेखक खरेल राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटी अध्यक्ष हुन् ।)