लुदस, काठमाण्डौ
मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिएसँगै पानी छोड्न थालिएको छ । कुलेखानीको पानी कुलेखानी र सिस्नेरी खोला हुँदै बागमती भएर बग्छ ।
त्यसैले मकवानपुरका भीमफेदी, इन्द्रसरोबर, बागमती गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी क्षेत्र रौतहटको नुनथर, चन्द्रपुर, सर्लाहीको तटीय क्षेत्र आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।
सतर्कताको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आवश्यक तयारीसहित तल्लो तटीय क्षेत्रमा माइकिङ गरेको छ । निरन्तर ठूलो पानी परेको र पानी पर्ने क्रम नरोकिएपछि यसअघि हिजो बेलुका नै ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउने भन्दै नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गरेको थियो ।