
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु प्रसाद पौडेलले बाणगंगाका सामुदायिक वनमा अनियमितता र अपारदर्शिता नरहेको बताउनुभएको छ । मनकामना सामुदायिक वन उपभोक्ता समुह बाणगंगा नगरपालिका १ र २ कपिलवस्तुको १७ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रवक्ता पौडेलले यस्तो बताउनुभएको हो । वडा नंं. २ का वडाध्यक्ष समेत रहनुभएका पौडेलले बाणगंगा नगरपालिका भित्र रहेका ३७ सामुदायिक वन तथा अन्य साझेदारी वनहरुमा त्यस्तो अपारदर्शिता र अनियमितता नरहेको भन्दै जसको अनुगमन गरिरहेको बताउनुभयो ।
उहाँले सुशासन र पारदर्शिता सहित उपभोक्ताहरुको हक हितका लागि कार्य गरिरहेको बताउनुभयो । प्रवक्ता पौडेलले मनकामना सामुदायिक वनले सुशासन र पारदर्शिताका साथ काठ विक्रि गरिरहेको बताउँदै भएको आम्दानीलाई हक हितमा खर्च गरेको जसको अनुगमन आफुले गरिरहेको बताउनुभयो । उहाँले वन भित्र ईको पार्क निर्माण लगायतका काममा नगरपालिका, वडा र वनको सहकार्य हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सामुदायिक वनले ५ वटा कार्य ईमान्दार भएर काम गरे पुग्छ जसमध्ये वृक्षरोपण गर्ने, विरुवा हुर्काउने, कटान गर्ने, विक्रि गर्ने र आएको आम्दानीलाई सहि सदुपयोग गरी उपभोक्ताको हक हितमा कार्य गर्नुपर्छ’ । वडाध्यक्ष पौडेलले वनको संरक्षण गर्ने जिम्मा उपभोक्ता समितिको मात्र नभई आम उपभोक्ताहरुको पनि उत्तिकै रहेको बताउँदै यसमा जनप्रतिनिधिबाट सदैव समन्वय र साथ रहने बताउनुभयो ।

