
लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका– २ गोबडिहवामा अवस्थित नव जागृति सामुदायिक वन उपभोक्ता समूहको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम शुक्रबार वनको आफ्नै सभालहमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु वन डिभिजन कार्यालयका डिभिजनल वन अधिकृत अजित कुमार कर्णले जथाभावी रुख काट्ने प्रवृतिलाई रोक्नुपर्ने बताए । उनले उमेर पुगेका रुखको कटान गरि नयाँ विरुवा रोप्ने कार्यलाई अगाडि बढाउनुपर्ने बताए । उनले वन अतिक्रमण रोक्ने कार्यमा सबै सरोकारवाला एकबद्ध भएर लाग्न आवश्यक रहेको बताए ।
उनले यस सामुदायिक वन क्षेत्रमा अतिक्रमणको समस्या नभएको भन्दै खुशी व्यक्त गरे । उनले सामुदायिक वनकै आम्दानीबाट वन संरक्षणसंगै गरिबी निवारण, आर्थिक तथा सामाजिक विकास गर्न सकिने बताए ।
बाणगंगा नगरपालिका वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले यस वनले वनको संरक्षण, सम्बद्र्धनसंगै सामाजिक विकासमा समेत योगदान गरेको भन्दै प्रशंसा गरे ।
वन अमूल्य सम्पत्ति भएको बताउँदै उनले यसको संरक्षणमा सबै एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए । वडाले विगतदेखि नै वनसंग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने उहाँले प्रतिवद्धता व्यक्त गरे ।
सब डिभिजन वन कार्यालय पिपराका प्रमुख मोहन मिश्रले लागत अनुमान गरेर मात्र खर्च गर्दा कामको गुणस्तरियता राम्रो हुने बताए । उनले वनका ऐन नियमहरुको दायराभित्र रहेर काम गर्दै वनको आर्थिक पक्षलाई पारदर्शी बनाउनुपर्ने बताए ।
वनका अध्यक्ष हेमनाथ पौडेलले वनको निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै वनसंग सम्बन्धित सम्पूर्ण निकायसंग आवश्यक सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । अध्यक्ष पौडेलले २ करोड ५० लाख ७१ हजार ८८४ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे । वनले वन संरक्षण, सम्बद्र्धनलाई प्राथमिकतामा राखेको बताउँदै उनले समाज रुपान्तरणमा वनले खेल्न सक्ने भूमिका निर्वाह गर्न आफ्नो टिम तयार रहेको बताए । वन सबैको साँझा सम्पत्ति भएकाले यसको रेखदेखमा सबैले चासो देखाउनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले विभिन्न वनमा आर्थिक अनियमिता हुने खबर बाहिरिने क्रम बढेको भन्दै त्यसतर्फ हरेक सामुदायिक वन सचेत हुनुपर्नेमा जोड दिएका थिए । वक्ताहरुले वनले वन संरक्षणमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा वनकी सचिव तुल्सी रानाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष संगिता रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित भएका थिए ।

