लुदस, भैरहवा
लुम्बिनी बौद्ध विश्वविद्यालयमा नेपाल–चीन मित्रता शिलास्तम्भ स्थापना गरिएको छ । विश्वविद्यालयको बौद्ध अध्ययन सङ्कायबाट मित्रता शिलास्तम्भ अनावरण गरिएको हो । आइतबार लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल वज्राचार्य र चीन–नेपाल सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली पोज्युले बुद्ध जन्मस्थलमा रहेको विश्वविद्यालयको बौद्ध अध्ययन सङ्कायको कार्यालय परिसरमा रहेको स्तम्भको अनावरण गर्नुभएको हो ।
कार्यक्रममा बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा वज्राचार्यले स्तम्भ अनावरणसँगै नेपाल र चीनबिचको सम्बन्ध अझै सुमधुर बन्दै जाने विश्वास व्यक्त गर्नुभयो । बौद्ध विश्वविद्यालको विकास र शैक्षिक उन्नयनमा चीनको सदैव सकारात्मक सहयोग रहँदै आएको बताउँदै उहाँले आगामी दिनमा नेपाल–चीनबिचको सांस्कृतिक आदानप्रदान रहिरहने उल्लेख गर्नुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा विकास गरी विदेशी विद्यार्थीलाई आकर्षण गर्ने गरी योजना अघि बढाइएको भन्दै उहाँले यी योजना सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।
चीन–नेपाल सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली पोज्युले सबैको सामूहिक प्रयासमा मित्रता स्तम्भ राख्ने काम सफल भएको बताउँदै यो प्रयासले विश्वविद्यालय र चिनियाँ जनताबिचको सम्पर्क र सहकार्य बलियो हुने उल्लेख गर्नुभयो ।