लुदस, कपिलवस्तु
सीमापारीबाट भित्रने लागू औषध नियन्त्रणमा कपिलवस्तु प्रहरी आक्रामक देखिएको छ । खुला सीमानाको फाइदा उठाउदै औषधीजन्य लागू औषध तथा खैरो हेरोइनको कारोबार गर्नेहरुलाई प्रहरीले धमाधम पक्राउ पर्न थालेको छ । प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएसंगै यसमा संलग्नहरुलाइ समात्न प्रहरी सफल भएको हो ।
विगत ३ महिनाको अवधीमा कृष्णनगर प्रहरीले मात्रै लागू औषध कारोबारमा संलग्न १९ जनालाई पक्राउ गरेको छ । नेपालबाट भारत तर्फ चरेश लैजादै गरेका देखि भारतबाट ब्राउन सुगर तथा औषधीजन्य लागूऔषध ल्याई नेपालमा बिक्री वितरण गर्नेहरुलाई पक्राउ गर्न सफल भएको हो ।
सीमा क्षेत्रमा हुने शंकास्पद गतिविधि लाई सूक्ष्म निगरानी गरेसंगै यसका कारोबारी पक्राउ पर्न थालेको प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए । विशेष गरि लागूऔषध कारोबारमा स्थानीयबासी तथा २५ बर्ष मुनिका युवाहरुको संलग्नता देखिएको निरिक्षक खत्रीले बताए ।
पक्राउ मध्ये ११ जना शिवराज नगरपालिकाका छन् भने ४ जना कृष्णनगर नगरपालिकाको रहेको प्रहरीले जनाएको छ । प्रहरीको सूक्ष्म निगरानी कै कारण एक साता अघि मात्रै कृष्णनगर प्रहरीले सीमा क्षेत्रबाट नेपाल ल्याउदै गरेको १३ हजार ट्रामाडोल नामक लागूऔषध पक्राउ गरेको थियो । पक्राउ सबैलाई लागू औषध सम्बन्धी कसुर मुद्धा चलाईएको र केहि पुर्पक्षका लागि थुनामा गइसकेका छन् ।
लागू औषधको ट्रान्जिटका रुपमा रहेको कृष्णनगर, मर्यादपुर, चाकरचौडा लगायतका क्षेत्रमा विशेष सुुराकी परिचालन गरिएको प्रहरीले जनाएको छ । कपिलवस्तु प्रहरी प्रवक्ता तथा डिएसपी मोहनमणी अधिकारीका अनुसार नेपाली लागूऔषध प्रयोगकर्ताहरुलाई लक्षित गर्दै नेपालमा प्रतिबन्धित नशालु औषधीहरु सीमापारी खुलेआम विक्री भइरहदा यसले समस्या थपिएको छ ।
सीमापारीका मेडिकल व्यवसायीले चिकित्कसको प्रेस्किप्सन बिना जथाभावी जुनसुकै उमेर समूहलाई लागूऔषधहरु विक्री गर्दा यसले ठूलो जोखिम निम्त्याएको समेत उनले बताए । “यसबारे आगामी हुने नेपाल–भारत सीमा सुरक्षा बैठकमा विषय उठाउने हाम्रो तयारी छ” अधिकारीले भने ।