लुदस, तानसेन
पाल्पामा पछिल्ला वर्षमा श्रीमान्श्री/मतीबिच सम्बन्धविच्छेद गर्ने क्रम बढेको छ । पारिवारिक बेमेलका कारण जिल्ला अदालत पाल्पामा सम्बन्धविच्छेदका मुद्दा हरेक वर्ष बढ्दै गएका छन् । बढ्दो सामाजिक सञ्जालको प्रयोग, वैदेशिक रोजगारी, स्वतन्त्र हुने चाहनाका कारण सम्बन्धविच्छेदका घटनामा वृद्धि भएको हो । पछिल्ला वर्षमा जिल्ला अदालतमा अन्य मुद्दाभन्दा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता हुने गरेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा ५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्धविच्छेदको रहेको अदालतले जनाएको छ ।
गत आवमा कुल एक हजार ३२ वटा मुद्दा दर्ता भएकामा ५२४ वटा मुद्दा सम्बन्धविच्छेदका रहेको अदालतका स्रेस्तेदार केशव पराजुलीले जानकारी दिनुभयो । सम्बन्धविच्छेदका ५२४ मुद्दामध्ये ४५५ वटा मुद्दा फस्र्योट गरिएको र बाँकी ६९ वटा मुद्दाको टुङ्गो लाग्न बाँकी रहेको उहाँले बताउनुभयो ।
अदालतका अनुसार आव २०७९/८० मा कुल एक हजार १७ वटा मुद्दा दर्ता भएकामा ४४३ मुद्दा सम्बन्धविच्छेदका मात्र थिए । हरेक वर्ष मुद्दाको सङ्ख्या बढ्दै जाँदा सम्बन्धविच्छेदका मुद्दाको सङ्ख्या बढ्दै गएको स्रेस्तेदार पराजुलीको भनाइ छ । पछिल्लो समय फेसबुक, ट्विटर, रिल, टिकटकको प्रयोगले पारिवारिक बेमेल बढेको उहाँको भनाइ छ ।