जनताले सवाल राख्नका लागि ‘१ पार्टी सदस्य, १ कमिटी’ आवश्यक: ईन्चार्ज न्यौपाने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले उहाँले जनताले आफ्ना सवाल र समस्या राख्नका लागि एक पार्टी सदस्य, एक कमिटी आवश्यक रहेको बताउनुभएको छ । नेकपा (एमाले) बाणगंगा नगर कमिटिको दोस्रो पुर्ण विस्तारित बैठक तथा ३ महिने वडा केन्द्रित अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेता न्यौपानेले प्रत्येक पार्टी सदस्य टोल देखि जिल्ला कमिटी सम्म संगठित गर्नुपर्ने बताउनुभयो । न्यौपानेले ३ महिने वडा केन्द्रित अभियान अन्तर्गत वडा वडमा पुग्न आवश्यक रहेको भन्दै एमालेले जितेका वडामा विकास निर्माणको अवस्थाको बारेमा समीक्षा गर्नेमा केन्द्रित हुने बताउनुभयो । बैठकका प्रमुख अतिथि समेत रहनुभएका नेता न्यौपानेले एमालेको नीति ठिक भएकोले चौतर्फि आलोचना भएको र एमालेले जनताको काम गरेकोले आलोचना भएको बताउनुभयो । पार्टीको नीति र नेतृत्व मानेर अगाडि बढ्नुपर्ने बताउँदै जरा अभियानबाट जनताका सवाललाई पार्टीले सही ढंगले ब्यवस्थापन गर्ने बताउनु भयो । नेता न्यौपानेले नेतृत्वमा रहनेहरुले सबै पार्टी कार्यकर्ताको भावनालाई ध्यान दिदै नेतृत्व गर्नु पर्नेमा सुझाव राख्नु भयो ।

घरघरमा पुगी पार्टीले गरेका कामको जानकारी दिने जनताका समस्या र सवालहरुको बारेमा टिपोट गरि सम्बधित निकायमा लैजाने महत्वपुर्ण निर्णय सहित नेकपा (एमाले) बाणगंगा नगर कमिटिको दोस्रो पुर्ण विस्तारित बैठक सम्पन्न गरिएको छ । नगर कमिटीको दोस्रो बैठक तथा ३ महिने वडा केन्द्रित अभियानको शुभारम्भ कार्यक्रममा यस्तो निर्णय गरिएको हो ।

बैठक तथा वडा केन्द्रित अभियानको शुभारम्भ कार्यक्रममा नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालले वडा कमिटीका बैठक, नविकरण र एप डाउनलोड फारम भर्ने, कमिटीहरु गठन, प्रशिक्षण, जन संगठनका कमिटी निर्माण, प्रशिक्षकको रोष्टर सुची, टोल कमिटी गठन, अनुगमन, समस्या र सुझाव संकलन, स्वास्थ्य लाभ, बधाई तथा समवेदना लगायतको एजेण्डा प्रस्तुत गरि सबैको सल्लाह सुझाव सहित विभिन्न महत्वपुर्ण निर्णयहरु गरिएको छ । नगर कमिटी अध्यक्ष अर्यालले ३ महिने वडा केन्द्रित अभियानका लागि ११ वटै वडा कमिटीले समन्वय गरेको अवस्थामा नगर कमिटी सदैव तत्पर रहेको बताउनुभयो । उहाँले पार्टीले गर्न नसकेका काम जनताबाट जानकारी टिपोट गरि आगामी दिनमा पुरा गर्नुपर्नेमा जोड दिनुभयो । वैठक संगठन सुदृढीकरण, विकास निर्माण र जन अपेक्षाका विषयमा केन्द्रित रहेको थियो ।

वैठकलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष बाबुराम खनालले पार्टीको आधा भाग बाणगंगामा रहेको र त्यसको नतिजामा पनि देखिएको बताउँदै पार्टी अब सुचना, प्रविधिसंगै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । अध्यक्ष खनालले वडा केन्द्रित अभियान मार्फत पार्टी माथि लगाईएका भ्रम र नकारात्मक सुचना चिर्नुपर्ने भन्दै विधान अधिवेशन गर्ने एक मात्र पार्टि एमाले रहेकोले विचारको राजनीति मार्फत अगाडि बढ्ने पार्टि एमाले रहेको बताउनुभयो । उहाँले जिल्ला कमिटि चलाउन ठुलो संख्या मात्रै भएर नहुने बताउदै काम गर्नेलाई स्थान दिएर सानो संख्याको कमिटिले पनि उत्कृष्ट काम गर्न सक्ने बताउनुभयो ।

प्रदेश कमिटी सदस्य डम्मर शर्माले जरा अभियानको बारेमा जानकारी दिंदै नेतृत्वमा रहेकाहरुको मात्र नभई सबै सदस्यहरुको अहम भुमिका रहेको बताउनुभयो । निवर्तमान जिल्ला अध्यक्ष समेत रहनुभएका शर्माले उहाँले काम र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने र पार्टीमा छलफल र अन्तरविमर्शलाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुको उल्लेखनीय उपस्थिती रहेको उक्त बैठक नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, उप सचिव जगतराज रेग्मीको स्वागत मन्तव्य र सचिव चेतनारायण भण्डारीको संचालनमा बैठक सम्पन्न भएको प्रेस चौतारी नेपाल बाणगंगा नगर समितिले जानकारी दिएको छ ।

 


प्रकाशित : २०८१ फाल्गुन १५, बिहीबार १८:५६