
लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका २ मा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा नाँप जाँच कार्य सुरु भएको छ । भूमि समस्या समाधान आयोग कपिलवस्तुले एक औपचारिक कार्यक्रमकाबीच वडा नं.२ को गब्दैयामा जग्गा नाँप जाँचको काम सुरु गरेको हो ।
भूमि समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल र बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले संयुक्त रुपमा उक्त कार्यको शुभारम्भ गरेका हुन् ।
भूमि समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष झबिलाल पोख्रेलले सरकार परिवर्तन भएपनि भूमि समस्या समाधान आयोगले आफ्ना कामहरु निरन्तर जारी राख्ने बताए । उनले धेरै बोल्न भन्दा पनि आफुले भूमि सम्बन्धि ऐन नियमको परिधिभित्र रहेर काम गरेर देखाउने जिकिर गरे । जनप्रतिनिधिले लालपुुर्जाको लागि सिफारीस नदिएमा आयोगलाई तत्काल सुचना दिन उनले अपिल समेत गरे ।
राजनीतिक प्रतिशोध राखेर भोट नदिएकै कारण वास्तविक भूमिहिनलाई जग्गा प्राप्त गर्न बञ्चित गर्न नहुने उनको भनाई छ । सो क्रममा उनले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले पाउने जग्गाको सीमा र मापदण्डबारे स्पष्ट पारेका थिए ।
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले नगरवासीलाई लालपुर्जा वितरण गर्न नगर आतुर रहेको बताए । उनले चुनावमा भूमिहिनलाई जग्गाको मालिक बनाउने भनेर गरेको प्रतिवद्धता अहिले पनि स्मरण रहेको बताए । उनले सोही अनुरुप भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या सधैका लागि अन्त्य गर्न निरन्तर रुपमा कामहरु गरिरहेको बताए ।
उनले विगतको जिल्ला आयोग समक्ष ७४ ओटा भन्दा बढी ब्लकको नाँपजाचका लागि अनुमति माग्दाँ जम्मा ४ वटा ब्लकको मात्र अनुमति पाएको गुनासो गरे । नगरप्रमुख अर्यालले जग्गा नाँपजाचका क्रममा विवाद भए नाँपजाचको काम नै रोकिने भन्दै कुनै पनि किसिमको विवाद नगर्न आग्रह गरे ।
नगर उपप्रमुख रिताकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, नगर प्रवक्ता तथा वडाध्यक्ष विष्णु प्रसाद पौडेलले वास्तविक भूमिको समस्याबाट गुज्रिरहेका भूमिहिनलाई जग्गाको मालिक बनाउन सबैले सरात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रमको औपचारिक कार्यक्रम बाणगंगा नगरपालिका वडा नं.२ का वडा सचिव नरेन्द्र प्रसाद पोख्रेलले गरेका थिए ।