हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मा रहेको नव प्रभात सामुदायिक वन उपभोक्ता समूह र बाणगंबगा नगरपालिकासँगको सहकार्यमा बोडगाउँ बजार क्षेत्र लगायत विभिन्न स्थानमा कुलो तथा कलभर्ट निर्माण गर्न सुरु गरेको छ । सामाजिक विकास र डुबान न्यूनीकरणलाई लक्षित गरी अगाडि बढाइएको यो अभियानले स्थानीय बासिन्दामा राहतको अनुभूति गराएको छ ।

बर्र्षायाममा बोडगाउँको मुख्य बजार क्षेत्र बारम्बार डुबानमा पर्न थालेपछि स्थानीयवासी वर्षा सुरु हुनुअघि नै चिन्तित हुने गर्दथे । हाल सामुदायिक वनको सक्रियतामा निर्माण भइरहेको मुल कुलोले अब यस्तो समस्या दोहोरिन नदिने नव प्रभात सामुदायिक वनका अध्यक्ष डिल्लीराज रेग्मीले विश्वास व्यक्त गर्नुभएको छ ।
कुल ८० लाख रुपैयाँको लागतमा भइरहेको यस योजनामा नगरपालिका बाट ४० लाख र सामुदायिक वनबाट ४० लाख रुपैयाँ बराबरको सयुंक्त लगानी गरिएको छ । योजना अन्तर्गत लौगाइको झरेनियामा करिब ६०० मिटर मुल कुलो, बोडगाउँ बजार क्षेत्रमा १ सउय ७५ मिटर मुल कुलो, साथै बन्डौली र बालापुर क्षेत्रमा पनि कुलो तथा कलभर्ट निर्माण कार्य अघि बढाइएको र नगरपालिकाले आवश्यक समन्वय र सहकार्य प्रदान गरिरहेको वनका अध्यक्ष रेग्मीले जानकारी दिनुभएको छ ।

९ सय ६३ घरधुरी आवद्ध समूहले ३७७.६३ हेक्टर वन क्षेत्रको संरक्षणसँगै सामाजिक पूर्वाधार निर्माणमा समेत सक्रिय भूमिका खेल्दै आएको छ । सामुदायिक वन केवल संरक्षणमा सीमित छैन, यसले स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यसहित सिँचाइ, सडक, उज्यालो गाउँ, सीप विकास, आयआर्जन जस्ता क्षेत्रमा पनि काम गरिरहेको छ, अध्यक्ष रेग्मीले बताउनुभयो ।
स्थानीय तहसँगको सहकार्यमा गरिएको यस प्रयासले बोडगाउँ क्षेत्रलाई डुबानको त्रासबाट मुक्त गराउनुका साथै दीर्घकालीन विकासमा समेत योगदान पु¥याउने विश्वास लिइएको छ ।



















