काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–९ स्थित इन्द्रेणीघाटमा त्रिशूली नदीको बाढीमा फसेका दुई जनाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्दार गरेको छ।
एक्कासि आएको बाढीका कारण दुई जना नदीको बिचमा सिसौको रुखको भर परेर अडिएका थिए। पानीको तीव्र बहाव र प्रतिकूल मौसमका कारण उद्दार कार्यमा कठिनाइ भए पनि सेनाको टोलीले हेलिकप्टर प्रयोग गरी उनीहरूलाई सकुशल उद्दार गरेको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार असार २४ गते बिहान ६:३० बजे बेत्रावती जलमापन केन्द्रमा त्रिशूली नदीको जलसतह सतर्कता तह नाघेको छ। नदीमा अझै खतरा कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।


















