हरि आचार्य, कपिलवस्तु
नेकपा एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु ईन्चार्ज गिरधारीलाल न्यौपानेले संविधानको संरक्षण गर्ने जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने बताउनुभएको छ । नेकपा (एमाले) बाणगंगा नगर कमिटी र नेपाली कांग्रेस बाणगंगा नगर कार्य समितिद्धारा आयोजित १० औं संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
न्यौपानेले हालै भएको आन्दोलनबाट राष्ट्रिय सम्पतिको क्षति हुनु दुःखद भएको बताउँदै अझै पनि आफुहरु संविधानको रक्षाका लागि दृढ रहेको बताउनुभयो । समारोहका प्रमुख अतिथि एवम् लुम्बिनी प्रदेश सभा सदस्य समेत रहनुभएका नेता न्यौपानेले संविधान संशोधन, सुशासन कायम र पारदर्शिताका लागि आफुले पार्टीमा कुरा राखिरहेको बताउँदै एमाले र कांग्रेस नै संविधानको रक्षा गर्ने दल रहेको बताउनुभयो । उहाँले संविधानको संरक्षण र बचाउने जिम्मेवारी केवल राजनीतिक दलको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा दायित्व भएको धारणा व्यक्त गर्नुभयो ।
नेता न्यौपानेले जनताको माग अनुसार आफुहरु सच्चिने बताउँदै जेनजी आन्दोलनको नाममा घुसपैठ भएको भन्दै राष्ट्रिय तथा नीजि सम्पतिको आगजनी र तोडफोड गर्ने व्यक्तिलाई कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताउनु भयो ।
उहाँले संविधानलाई गतिशील दस्तावेजका रूपमा व्याख्या गर्दै जनचाहनाअनुसार राजनीतिक दलहरू अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । संविधानमाथि देशी–विदेशी शक्ति केन्द्रबाट भइरहेको आक्रमणप्रति सचेत रहनुपर्नेमा पनि उहाँले नेपाली जनतालाई आह्वान गर्नुभयो ।


















