लुदअ, काठमाडौं
तीन दशकयता नेपालमा भएका हरेक चुनावमा कुनै न कुनै असन्तुष्ट समूह देखापर्ने गरेका थिए । सुरक्षा समस्यालाई ध्यानमा राखी क्षेत्रगत रूपमा चुनाव सम्पन्न गरिएका उदाहरण छन् ।
तर यो पटकको चुनावमा तीनवटै सुरक्षा निकायले कुनै चुनौती महसूस गरेका छैनन् । राजनीतिक शक्ति त के चुनाव लागेपछि पर्चा मिल्काउने जातीय संघसंस्था पनि यतिबेला निस्क्रिय छन् ।
सुरक्षा चुनौतीका दृष्टिले यो पटकको स्थानीय तह निर्वाचन सहज रहेको विश्लेषण गरिएको छ । चुनावको तिथीका विषयमा केही समयअघि स्वयं राजनीतिक दलहरू अस्पष्ट हुँदा नेताहरूबीच माथापच्ची भए बाहेक अन्य कुनै असन्तुष्ट स्वर सुनिएको छैन ।
यसअघिको घटनाक्रम हेर्ने हो मधेशमा च्याउसरि उम्रिएका असन्तुष्ट खेमा, पहाडमा देखिने जातीय संगठनले चुनाव भाँड्नुमा आफ्नो उपलब्धि ठानेर मतदातालाई आतंकित बनाउने प्रयास गर्थे ।
मधेश एजेण्डामा रमाउने राजनीतिक दलहरूले नागरिकताको मुद्दा अगाडि बढाएर चुनाव भाँड्ने प्रयास गर्ने गरेका थिए । अघिल्लो चुनावमा तराईका सशस्त्र विद्रोही समूहबाट सुरक्षा चुनौती रहेको प्रहरीले महसूस गरेको थियो ।
यो चुनावमा भने सुरक्षा निकायले सहज ढंगमा चुनावी अभियान सम्पन्न गर्ने आत्मविश्वास राखेको छ । यद्यपि आइपर्ने हरेक सुरक्षा चुनौतीका लागि तयारी अवस्थामा रहेको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसी बताउनुहुन्छ ।
सुरक्षाका दृष्टिले विघ्न बाधा आउन नदिन प्रहरीले आफ्नो तर्फबाट सम्पूर्ण तयारी पूरा गरी कार्यस्थलमा खटिसकेको जनाएको छ ।




















