हरि आचार्य, कपिलवस्तु
ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेशको नियमित बैठक कपिलवस्तुमा सम्पन्न भएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न नियमित बैठकमा नव बर्ष २०८२ सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन गरिएको छ ।
कार्यक्रममा प्रदेशका १२ वटा जिल्लाका प्रतिनिधिहरुले आफ्नो जिल्लाको रिपोर्टिङ् गर्नुका साथै नव बर्ष २०८२ सालको अवसरमा शुभकामना साटासाट गरेका थिए । साथै ग्रिल तथा स्टील व्यवसायीहरुले दर्ता प्रक्रियामा नगई गरेका व्यवसायीहरुलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा कपिलवस्तुका विभिन्न पालिका अध्यक्षहरुलाई उत्कृष्ट काम गरेको भन्दै सम्मान समेत गरिएको छ ।
त्यस्तै ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष ओम ओली, दिल बहादुर सुनार, चेत नारायण गैरेले महासंघले व्यवसायीहरुको हक हितका लागि काम गरिरहेको उल्लेख गर्दै केन्द्रले पनि अझ विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै बैठकका अध्यक्ष तथा महासंघ लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार वर्माले नव बर्षको शुभकामना व्यक्त गर्दै ग्रिल तथा स्टील व्यवसायी पक्षमा महासंघले काम गरिरहेको र आगामी दिनमा पनि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले स्थानीय, प्रदेश र केन्द्र सरकारसंग महासंघले समन्वय गर्ने प्रयास गरिरहेको बताउँदै महासंघको पहिचान बढाउनका लागि सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीको बिमा, व्यवसायीक सुरक्षा, आर्थिक समृद्धि तथा व्यवसायीहरुको हक हितका लागि महासंघले विधान निर्माणको कार्य गरिरहेको बताउँनुभयो ।
प्रदेश, जिल्ला तथा पालिकाका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको बैठक महासंघ लुम्बिनी प्रदेश सचिव आतिश किरण विककाे संचालनमा सम्पन्न भएकाे थियाे ।




















