लुदस,जितपुर ।कपिलवस्तुको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचान बोकेको लक्ष्मणघाटमा सदियौँदेखि परम्परागत रूपमा लाग्दै आएको पूर्णिमा मेलालाई यस वर्ष थप भव्य र आकर्षक बनाउने तयारी गरिएको छ। बाणगंगा नगरपालिका–६ स्थित लक्ष्मणघाट माध्यमिक विद्यालयको प्राङ्गणमा आगामी २०८३ साल मंसिर ७ गतेदेखि १० गतेसम्म ‘लक्ष्मणघाट पूर्णिमा मेला तथा विविध सांस्कृतिक कार्यक्रम–२०८३’ आयोजना हुने भएको हो।
मेलालाई थप व्यवस्थित, सभ्य र भव्य बनाउँदै धार्मिक पर्यटन, स्थानीय कला, संस्कृति, व्यापार तथा सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मेला मूल आयोजक समिति संयोजक तेजबहादुर थापाले जानकारी दिए।
लक्ष्मणघाटको धार्मिक महत्त्व, ऐतिहासिक विरासत तथा स्थानीय समुदायको सांस्कृतिक पहिचान संरक्षण गर्दै नयाँ पुस्तामा मौलिक कला, संस्कृति र परम्पराको हस्तान्तरण गर्नु मेलाको प्रमुख उद्देश्य रहेको संयोजक थापाले बताए।
चार दिनसम्म सञ्चालन हुने मेलामा धार्मिक गतिविधिसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, विविध सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक खेल, बाल उद्यान, झुला, व्यापारिक स्टल तथा स्थानीय उत्पादनको प्रदर्शनीलगायत आकर्षण रहने सांस्कृतिक संयोजक वीरेन्द्र रेग्मीले जानकारी दिए।
मेलाको मुख्य आकर्षणका रूपमा चर्चित कलाकार ज्योति मगर, आधुनिक गायक हेमन्त शर्मा, थारु कलाकार अञ्जु कुश्मी (फूलकुमारी), दोहोरी गायक दीपक गरौजा तथा हास्यकलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) लगायतका कलाकारको प्रस्तुति रहनेछ। साथै स्थानीय कलाकार तथा साहसी कदम नेपालको विशेष सांस्कृतिक प्रस्तुति पनि रहने सांस्कृतिक सहसंयोजक थानेश्वर अधिकारीले बताए।
मेलाले स्थानीय व्यवसायी, कृषक, उद्यमी, कलाकार तथा पर्यटन व्यवसायसँग सम्बन्धित व्यक्तिहरूलाई आफ्ना उत्पादन, सीप र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। यसबाट स्थानीय व्यापार व्यवसाय प्रवर्द्धन हुनुका साथै क्षेत्रको आर्थिक तथा पर्यटन गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने आयोजक संस्था लक्ष्मणघाट बोलबमधाम विकास समितिका अध्यक्ष रनबहादुर काउचाले विश्वास व्यक्त गरे।
कार्यक्रमको आयोजकमा लक्ष्मणघाट बोलबमधाम विकास समिति, सहआयोजकमा लक्ष्मणघाट सामाजिक विकास केन्द्र तथा संरक्षकमा बाणगंगा नगरपालिका वडा नं. ६ को कार्यालय, मिडिया पार्टनरमा लुम्बिनी दर्पण अनलाईन र लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिक रहेका छन् ।
मेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न विषयगत समिति गठन गरिएको कार्यक्रमका सहसंयोजक प्रकाश भुसालले जानकारी दिए। उनका अनुसार आर्थिक संयोजकमा वीरेन्द्र रेग्मी र जितमान वि.क., स्टल संयोजकमा जितमान वि.क., प्रचारप्रसार तथा छपाइ संयोजकमा अन्जित खनाल, सांस्कृतिक संयोजकमा वीरेन्द्र रेग्मी, पार्किङ संयोजकमा मधु थापा, शान्ति सुरक्षा संयोजकमा बाबुराम बस्नेत तथा खाद्य व्यवस्थापन संयोजकमा प्रमोद पाण्डे रहेका छन्।
२०८३ साल कात्तिक २९ गते बसेको आयोजक समितिको बैठकले मेला सञ्चालनसम्बन्धी आवश्यक निर्णय तथा जिम्मेवारी बाँडफाँट गरेको हो। बैठकमा लक्ष्मणघाट बोलबमधाम विकास समितिका अध्यक्ष रनबहादुर काउचा, बाणगंगा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष करुण टण्डन, लक्ष्मणघाट सामाजिक बिकास केन्द्रका पुर्व अध्यक्ष थानेश्वर अधिकारी, सन्तोष राणा, लक्ष्मणघाट सामाजिक विकास केन्द्रकी अध्यक्ष सरिता थारु, लेसबहादुर रेग्मी लगायतको उपस्थिति रहेको सांस्कृतिक समिति सदस्य विनोद खनालले जानकारी दिए।
धार्मिक आस्था, मौलिक संस्कृति, मनोरञ्जन र स्थानीय व्यापारको साझा उत्सवका रूपमा आयोजना हुन लागेको लक्ष्मणघाट पूर्णिमा मेलाले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गर्नुका साथै स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
आयोजकले कपिलवस्तुसहित छिमेकी जिल्ला तथा देशभरका श्रद्धालु भक्तजन, संस्कृतिप्रेमी, कलाकार, व्यवसायी र सर्वसाधारणलाई मेलामा सहभागी भई कार्यक्रमको शोभा बढाउन हार्दिक निमन्त्रणा गरेको छ।




















