हिमालमा जोखिमहरु हुन्छन्, जीवनमा हिमालहरु हुन्छन्

[sharethis-inline-buttons]

खगेन्द्र प्रसाद पाठक
हिमालमा जोखिमहरु हुन्छन्, जीवनमा हिमालहरु हुन्छन् । जीवन भनेको जोखिमहरुको सुन्दर कविता हो । जोखिमहरुदेखि तर्सनेहरु सधैँ कुरुप कविता रचना गर्दछन् ।

एक वर्ष बितिसकेछ । काठमाडौँमा लोकसेवा पढ्न गएको थिएँ । असार २३ गते बिहानै देवेन्द्र पौडेल सरसँग चिया पिउँदै जीवनका आरोह र अवरोहका बारेमा गफ गरेका थियौ । त्यसपछि नेममा कक्षा सकिएपछि करिब १० बजेतिर बिरामी भेट्न धुलीखेल अस्पतालतर्फ लागेँ ।

त्यहाँ जाँदै गर्दा कथित “सिरिन्ज काण्ड” का नाममा मभित्र रहेको सोझोपन र इमानदारितामाथि निर्मम प्रहार गरिएको थियो । म मरेर बाँचेको थिए त्यसदिन । त्यो अत्यास र कहालीलाग्दो दिन मेरो जीवनको अप्रत्यासित रुपमा ग्रहण लागेको दिन थियो ।

नियतिले बुवाको माया पाउन बञ्चित गराए पनि मेरी आमाले बात्सल्ले प्रेमको अभाव हुन कहिल्यै दिनु भएन । जीवनका यावत दुख र कष्टहरुका ग्रहण आफ्नै थाप्लोमा राखेर सन्तान सुखमा रमाउने मेरी बुढी आमा, घर गृहस्तिको सारा जिम्मेवारी समालेर मलाई स्वतन्त्र ढंगले निश्चिन्तताका साथ बग्न दिने श्रीमती (कल्पना) र साना छोराहरु केशर र शंकरलाई मैले झलझली सम्झिरहेको थिए ।

मेरी आमा दया, माया र करुणाकी सतिसाल हुनहुन्छ । म त उहाँकै पाइला पछ्याएर हिड्ने छोरा, आमाको प्रेरणा, श्रीमतीको हौसला, मेरो कर्ममा गर्व गर्ने छोराहरु त्यतिबेला मसँग थिएनन् तर, म एक्लो थिइन् । सत्य न्याय र इमानदारिताको विशाल धर्ती मसँग थियो ।

यद्यपि सत्यप्रतिको मेरो निष्ठा र इमानदारिताले गर्दा नै केही समयमै म निर्दोष सावित भएको थिएँ । असल सोचविचार, राम्रा–राम्रा कर्म गर्ने चाहना हुँदाहुँदै पनि कतिपय अवस्थामा मानिस प्रतिकूल परिस्थितिको भुमरीमा लुटपुटिनु पर्ने र कमारो नै बन्नुपर्ने, त्यतिबेला यी र यस्तै खालका भोगाइको म पनि अपवाद बन्न सकिन, अछुतो रहन सकिन ।

जीवनयात्राका क्रममा अनगिन्ती घुम्ती, खोंच, गल्छी र अप्ठ्यारा बाटाहरु पनि भेटिँदारहेछन् । मैले पनि यस घटनाबाट जीवनसम्बन्धी धेरै कुरा जान्ने र सिक्ने मौका पाएँ । जीवनलाई हेर्ने सबैको दृष्टिकोण फरक–फरक खालको भएजस्तै म पनि यस्तो खालको कुनै न कुनै एउटा चिन्तनबाट कहाँ टाढा रहन सक्छु र ? मैले बुझेसम्म यो लेखमा जीवनप्रतिको मेरो धारणा र बाँकी दिनहरुमा मैले रोजेको जीवनको बाटोको सम्बन्धमा आफ्ना भावनाहरु प्रस्तुत गर्ने जमर्को गरेको छु ।

जीवन दुःख सुखको अविराम र अविश्रान्त यात्रा हो । जीवनमा धेरै उतारचढावहरु र चुनौतीहरु आउने गर्दा रहेछन् । जे–जस्ता अप्ठ्यारा र चुनौतीहरु आइपरे पनि हामीले खुशीयालीका साथ त्यस्ता परिस्थितिहरुको हटेर होइन डटेर सामना गर्नुपर्दो रहेछ र बहादुरीका साथ जीवनमा आइपर्ने चुनौतीहरुको समाधानको बाटो रोज्नुपर्ने रहेछ ।
वास्तवमा त्यही नै वास्तविक जीवन हो जस्तो पनि लाग्न थालेको छ, आजकल मलाई । हो कहिलेकाहीँ चाहँदा नचाहँदै अनेक विपत्तिहरु झेल्नु पर्दछ । हामीले कहिल्यै नसोंचेका र नचाहेका मान्छेसँग लड्नु पर्ने हुन्छ । एउटा योजना बनाइ रहँदा, अर्कै काम गर्नुपर्ने स्थिति पनि आउन सक्छ । धेरै कुरा हामीले सोंचेजस्तै हुन्छ त्यसमा शंका छैन, तर सबै कुरा हामीले सोंचेजस्तो हँुदैन ।

हामीले सोंचेजस्तै भइदिएन भनेर मैदान छोडेर, कर्तव्य छोडेर र विजयको अवसर छोडेर हामी कहिल्यै भाग्नु हुँदैन । त्यसैले हाँस्नु मात्रै बाँच्नु होइन, रुनु भनेको मर्नु पनि होइन । आँखा रसाउनु कमजोर हुनु होइन र जीवनमा अप्ठ्यारा आउनु समाप्त हुनु पनि होइन । बाँच्नु भनेकै हाँस्नु र रुनु दुबै हो, गुमाउनु र पाउनु सबै हो ।

जीवन बुझ्दा र भोग्दा म के निष्कर्षमा पुगेको छु भने जीवन एक यात्रा पनि हो, जुन यात्रा हामीले सवार गर्नैपर्दछ । जीवनको यो यात्रा अति सटिक छ, मानौँ कि कुनै महोत्सव, मेला, पर्वजस्तो जुन कुनै निश्चित समयमा सुरु हुन्छ र कुनै निश्चित समयमा नै टुङ्गिन्छ ।

जीवनको यो यात्रामा समतल मैदानमा मात्र हिंड्न पाइँदोरहेनछ, हिंड्नु पर्ने पनि रहेछ झाडीहरुमा, काँडाहरुमा, तिखारिएर बसेका काँडे ढुङ्गाहरुमा, भिरहरुमा र फूलैफूलको संसारमा पनि । आखिर जे होस् जीवन बहुमूल्य छ । यो सुन्दर छ । यो प्रकृतिको एक अनुपम उपहार पनि रहेछ ।

त्यसैले जीवन यात्राका क्रममा आइपर्ने अप्ठ्यारा जँघार तर्दै त्यसलाई पार गरी सार्थक गन्तव्यमा पुग्नुको अर्को कुनै विकल्प हुनै सक्दैन । साँच्चै त्यस सार्थक गन्तव्यमा पुग्दाको मज्जा सायद जीवनमा कमै मान्छेले अनुभव गर्न पाउँछन् । यसका लागि अनवरत रुपमा अर्थपूर्ण सङ्घर्ष गरी राखे जीवनमा सफलता हात पार्न भने पक्कै पनि सकिन्छ जस्तो लाग्छ मलाई ।

जीवनलाई परिभाषित गर्ने सिलसिलामा केही राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वहरुका विचार र उनीहरुको यस प्रतिको दृष्टिकोणहरुलाई यहाँ प्रस्तुत गर्नु सान्र्दभिक ठान्छु ।

एथेन्सका महान दार्शनिक एवम् आफ्नो युगको सबैभन्दा बुद्धिमान् व्यक्ति सुकरातका अनुसार, “त्यो जीवन जिउन योग्य छैन, जसको पूर्णरुपले निरीक्षण र परीक्षण गरिदैन” । उनका अनुसार, यो जीवनभन्दा पहिला पनि कुनै अर्को जीवन थियो र यो जीवनपछि पनि जीवन हुनेछ । हाम्रो भौतिक शरीर नाशवान् रहेपनि आत्मा अमर छ ।

मलाई लाग्छ हामी यो मानव जीवनमा गरेका कर्मका आधारमा यस पश्चात् पुनः अर्को कुनै जीवनमा प्रवेश गर्नेछौँ । त्यसैगरी, जीवन सङ्घर्षशील हुन्छ । सङ्घर्षको परिणाम स्वरुप सफलता प्राप्त हुन्छ भन्ने कुराको पुष्टि संयुक्त राज्य अमेरिकाका प्रथम अश्वेत राष्ट्रपति बाराक ओबामाको जीवनबाट पनि ग्रहण गर्न सकिन्छ । उनले गरेका कामलाई इतिहासले कुन रुपमा हेर्छ त्यो एउटा पाटो छ तर उनको कार्यकालमा अमेरिकामा गर्व र सुरक्षा महसुस गर्ने खालका केही काम भने अवश्य भएका छन् ।

एउटा सामान्य परिवारमा जन्मेर पनि विश्वव्यापी रुपमा गरिबीसँग लड्ने र हालको गरिबीको स्तरलाई आधा बनाउने जस्ता महत्वाकांक्षी योजना लिएका ओबामाको जीवनबाट पनि हामीले सिक्नै पर्ने प्रशस्त कुराहरु छन् ।

जीवनलाई कस्तो बनाउने, आफ्नो जीवनको कस्तो आकार निर्धारण गर्नेदेखि लिएर जीवनमा प्राप्त हुने सफलता, असफलताको कारक स्वयम् व्यक्ति नै हो भन्ने कुराको यो गतिलो उदाहरण पनि हो । समाज, देश र राष्ट्र निर्माणमा प्रत्येक व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ भन्ने प्रेरणा पनि उनीबाट हामीले सिक्नै पर्दछ ।

जीवनलाई हेर्ने क्रममा नेपालकै केही व्यक्तित्वहरु छन् जसले जीवनमा गरेका सङ्घर्षका कार्यहरु अनुकरणयोग्य छन् । जीवनमा सदावहार सफलता नै हासिल गर्न सकिन्छ भन्ने छैन । जीवनमा असफलता पनि प्राप्त हुन्छ । आत्मविश्वासका साथ निरन्तर रुपमा सङ्घर्ष जारी राखे अवश्य पनि सफल हुन सकिन्छ भन्ने कुरा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जीवनबाट पनि जान्न सकिन्छ ।

‘असफलता नै सफलताको प्रतीक हो’ भन्ने कुरा उनले नेपाल एकीकरणको अभियानमा गरेका सङ्घर्षहरुबाट पनि पुष्टि हुन्छ । जीवनमा हार खान हुँदो रहेनछ । निरन्तर रुपमा अगाडि बढे सफल भइन्छ भन्ने कुरा उनीबाट सिक्न किन पछि पर्ने ? यदि उनले सङ्घर्षलाई निरन्तरता नदिएको भए आजको हामी सबैको आशाको धरोहर समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना सायद हुन्थेन होला पनि ।

जीवन जटिल छ । जीवन एक भोगाइ पनि हो । जीवनमा आइपरेका जटिलताहरुलाई पन्छाएर यसलाई सुन्दर पनि बनाउन सकिँदो रहेछ भन्ने कुरा हामीले साहित्यकार झमककुमारी घिमिरेको जीवनबाट पनि बुझ्न सक्दछौँ । जीवनमा असम्भव भन्ने केही पनि छैन भन्ने कुरा उनले नेपाली साहित्यमा पु¥याएको योगदानबाट पनि थाहा हुन्छ, विषम खालको शारीरिक अपांगता उनमा हुँदाहुँदै पनि ।

आज उनी हरेक नेपालीको मुटुको स्पन्दन बनेकी छन् । विश्वसामु सिङ्गो नेपाल र नेपालीले नै गर्व गर्ने लायक बनेकी छन् । विश्व समुदायमा नै एक सकारात्मक सूचना प्रवाह गरेकी छन् । हिन्दूधर्म दर्शन अनुसार मानव जीवन मोक्ष कर्मले मात्र प्राप्त हुन्छ । हिन्दू आख्यान अनुसार मानिसले पूर्वजन्ममा गरेका कर्मका फलका आधारमा पनि मानव जीवन प्राप्त हुन्छ भन्ने प्रसङ्गहरु पनि बाक्लै सुन्न पाइन्छ । जे होस् मानव जीवन सत्कर्मले मात्र प्राप्त हुन्छ भन्ने कुरामा कसैको दुईृमत नहोला ।

महान दार्शनिक सुकरातले भनेअनुसार यो जीवन पश्चात् पनि अर्को जीवन हुने हुँदा हाम्रो भावी जीवन कस्तो हुने भन्ने कुरा अहिलेको जीवनमा हामीले गरेका कर्मका फलका आधारमा निर्धारण हुन्छन् भन्ने कुरामा म विश्वस्त छु । त्यसैले हामीले यस ब्रम्हाण्डमा रहेका मानव जाति एवम् अन्य सम्पूर्ण प्राणीहरुको हित हुने र भलो हुने काम गर्नुपर्छ ।
महाकवि लक्ष्मी प्रसाद देवकोटाले भने अनुसार अर्काको चहराइरहेको घाउँहरुमा मलम लगाउनु नै जीवनको अर्को रमणीय पाटो हो । अत्याधिक ज्वरो आइरहेका बेला पानीपट्टी गरिदिनु नै जीवनको सार्थकता हो । आपतविपत र महामारीमा सहयोगी हातहरु फैलाउनु नै जीवनको महानता हो ।

जीवनमा हरेक व्यक्तिले विभिन्न आरोह–अवरोह र गम्भीर चुनौतीहरु पार गर्नुपर्दछ । जसलाई हामीले हाँसी–हाँसी सामना गर्नुपर्दछ । प्रकृतिमा वसन्तको आगमनसँगै नयाँ पालुवा मुस्कुराएजस्तै मुस्कुराउनु पर्छ । आज सम्पूर्ण विश्वमा मानव जातिका अगाडि अनेक किसिमका जटिल समस्याहरु रहेका छन् ।

धनी होस् वा गरिब, महिला होस् वा पुरुष, सम्पन्न होस् वा विपन्न, प्रविधिमा उन्नतिशील होस् वा पिछडिएको, बालक होस् वा वृद्ध, प्रत्येक व्यक्ति समस्याहरुबाट पीडित छ । त्यसैले मानव जीवनमा आइपर्ने समस्याहरुका व्यावहारिक भएर समाधान खोज्नु सार्थक हुन्छ । त्यसैले, हामी सबै आ–आफ्नो ठाउँबाट उठेर र जागेर विकासमा हातेमालो गर्दे समुन्नत नेपाल निर्माणको महान अभियानमा जुट्नु वा सरिक हुनु हामी सबैको कर्तव्य हो र दायित्व पनि ।

आज मेरो बुझाइमा पनि जीवनको परिभाषा अलिक भिन्न खालको भएको छ । हरेक व्यक्ति आफ्नो भाग्य निर्माता वा जीवन निर्माण गर्ने स्वयम् आफ्नै हो । आफूले कस्तो जीवन व्यतित गर्ने भन्ने कुरा व्यक्ति स्वयममा नै निर्भर हुन्छ । जीवन गतिशील छ । जीवन आफूले खोजे र रोजे जस्तो हुन्न पनि । तैपनि जीवनमा आइपर्ने प्रतिकूल परिस्थितिहरुलाई छिचोल्दै अनुकूलताको चाहनाका साथ हिँड्न सक्नुपर्दछ ।

यो नै जीवनको सार्थकता भनाँै वा अर्थपूर्णता हो जस्तो लाग्दछ मलाई ।
त्यसैले हरेक व्यक्तिले आफ्नो जीवन कस्तो बनाउने, कसरी व्यतित गर्ने भन्ने जस्ता कुराहरु उसको नैसर्गिक अधिकार हो । हुन सक्छ त्यही कारणले मैले पनि मेरो आफ्नो जीवनको म आफू हिँड्ने बाटो निर्धारण गरेको छु । अबको जीवनको म हिँड्ने बाटो–साहित्य र यसको अध्ययन । साहित्यको अध्ययनबाट समाज र राष्ट्र– निर्माणमा अलिकति भए पनि टेवा पुगेमा मैले आफ्नो प्रयास र मेरो जीवनलाई सार्थक ठान्नेछु ।

त्यसैले मैले साहित्यका माध्यमबाट सत्यको चिन्तन गर्दैछु । यसैबाट दैनिक क्रियाकलापहरुसँगै न्याय, धर्म र अनुशासनको स्मरण गर्दैछु । निष्ठा र लगनशीलताका साथ साहित्यको बाटोबाट हिंड्दै वर्तमान र भविष्यको जीवन पनि सुन्दर र प्रेमपूर्ण बनाउने कोशिश गर्दैछु ।

लेखक खगेन्द्र प्रसाद पाठक वालिङ–१३ उदियाचौर, स्याङ्जा निवासी हुन् ।


प्रकाशित : २०७७ असार २६, शुक्रबार ०२:१५