सलहको झुण्ड तत्कालै नेपाल आउने सम्भावना टर्यो

[sharethis-inline-buttons]

लुदअ साउन ८, काठमाण्डौ
भारतको सीमावर्ती क्षेत्रमा रहेका सलहको झुण्ड तत्कालै नेपाल आउने सम्भावना टरेकोे छ ।

राजस्थान, उत्तर प्रदेशलगायतका ठाउँमा पानी परिरहेकाले एक दुई दिनको लागि नेपाल आउने सम्भावना नदेखिएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताउनुभयो ।

हावाको गति तीव्र भएको र सलहको झुण्ड धेरैको संख्यामा भएकाले सम्बन्धित विज्ञको छलफलपछि किसानलाई सावधानी रहन आग्रह गरिएको तर राजस्थान आसपासको क्षेत्रमा ठूलो पानी परेकाले नेपाल छिर्न नसकेको उहाँको भनाइ छ ।

पानी पर्न कम भएपछि भने नेपाल आउने सम्भावना कायम नै भएको उहाँले जानकारी दिनुभयो । अहिले सलहको झुण्ड राजस्थान र उत्तरप्रदेशमा छ । सीमावर्ती क्षेत्रमै भएकाले किसानलाई चनाखो भने भइरहन र पूर्वतयारी गरिराख्न सुवेदीले आग्रह गर्नुभएको छ ।

पानी पर्न कम भएमा सलहको झुण्ड पश्चिम, दक्षिण पश्चिम तथा दक्षिणबाट हावासँगै नेपालको मध्य तथा पश्चिम तराई र सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्न सक्छ । यसैबीच साउन १ गते दिउँसो बाँकेबाट नेपाल छिरेको सलह गुल्मी तथा प्युठानतिर पुगेको जानकारी आएको सुवेदीले बताउनुभयो ।

सलहले विशेष गरी तरकारी बालीमा केही क्षति गरेपनि पूर्वतयारी र सतर्कताका कारण धेरै नोक्सानी गरेको छैन । सलह भगाउनका लागि धुवाँ बाल्ने, ध्वनी जगाउने, ढ्याङ्ग्रो ठोक्ने, थाल ठटाउने गरेर ठूलो आवाज निकाल्न विज्ञको सुझाव छ ।


प्रकाशित : २०७७ श्रावण ८, बिहीबार ०३:१९