नवलपरासीमा झारा टार्ने आईसोलेसन

[sharethis-inline-buttons]

परासी, २७ बैशाख ः

अक्सिजन नराखी बनाइएका आईसोलेसनमा कोरोना संक्रमित बिरामीहरु जान मानेका छैनन् । आईसोलेसन बनाउन वास्ता नगरेको भन्दै चौतर्फि आलोचना बढेपछि हप्ता दिनअघि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आईसोलेसन बनाएको छ । अक्सिजन नभएका कारण बिरामीहरु आईसोलेसनमा जान नमानेका हुन् । नगरपालिकाले पाल्ही क्यापस जितपुरमा अक्सिजन नराखी २० बेडको आईसोलेसन निर्माण गरेको छ । जिल्लामा ७ स्थानीय तह छन् । अन्य ६ वटा स्थानीय तहहरुले १० देखि २० बेडसम्मका अक्सिजनसहितका आइसोलेसन निर्माण गरेका छन् । आईसोलेसनमा एक जना पनि बिरामी नरहेको नगरपालिकाका कोरोना फोकल पर्सन सुरज हरिजनले बताए ।
अक्सिजनको शिलिण्डर खोज्दा नपाइएकाले राख्न नसकिएको नगर उपप्रमुख रम्भा कुँवरले बताईन् ।‘शिलिण्डरको लागि पहल भईरहेको छ । केही दिनमा राख्छौं ।’ उनले भनिन् ।
जिल्लामा हरेक दिन संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । आईसोलेसनमा सुविधा नभएपछि अधिकांश संक्रमितहरु होम आईसोलेसनमा छन् । अक्सिजन चाहिने बिरामीहरु पृथ्वीचन्द्र जिल्ला अस्पताल पुग्ने गरेका छन् । जसका कारण अस्पतालमा चाप बढेको छ । ‘अस्पतालमा चाप धेरै छ भन्छन् । नगरपालिकाले बनाएको आईसोलेसनमा अक्सिजन भएको भए त्यहाँ केही समय राख्न सकिन्थ्यो । झारा टार्ने हिसाबले बनाइएको छ । ’ स्थानीय दिनेश शर्माले भने ।
२० दिनको अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् । ११ सयको हाराहारीमा संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले जानकारी दिए ।


प्रकाशित : २०७८ बैशाख २७, सोमबार ०९:४७