
हरि शर्मा
परासी, २८ बैशाख ः
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले चउरमा छरपस्ट रुपमा राखेका अक्सिजनका शिलिण्डरलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले नियन्त्रणमा लिएको छ । देशभर अक्सिजन अभाव भएर बिरामीहरुले उपचार पाउन नसकेको अवस्थामा नगरपालिकाले छरपस्ट रुपमा चौरमा शिलिण्डर राखेको थियो ।
आइसोलेसनमा प्रयोग गर्ने भन्दै लगेका ५० शिलिण्डर अक्सिजन छरपस्ट देखेपछि प्रशासनले सोमबार मध्यरातमा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका शिलिण्डरमा १० वटा भरेका र ४० वटा खाली रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले बताए । नगरपालिकाले पाल्ही क्याम्पसमा २० बेडको आईसोलेसन बनाएपनि अहिलेसम्म सञ्चालनमा आएको छैन । शिलिण्डर नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, प्रहरी उपरीक्षक अजय केसीलगायतको सुरक्षा निकायको टोली पुगेको थियो । नगरपालिकाले केही शिलिण्डर आईसोलेसनका लागि र केही शिलिण्डर जिल्ला विपद् व्यवस्थापन समितिलाई भरेर फिर्ता दिने शर्तमा माग गरेपछि उपलब्ध गराइएको माझीले बताए । जिल्लामा अक्सिजन अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालयले विभिन्न उद्योगबाट शिलिण्डर संकलन गरेर जिल्ला विपद् व्यवस्थापन समितिमा राखेको छ ।
त्यहीबाट अस्पताल र आवश्यक पर्ने आईसोलेसनहरुमा उपलब्ध गराउँदै आएको छ । ‘उपलब्ध गराइएका शिलिण्डर नगरपालिकाले भरेर ल्याएको होला भनेका थियौं । तर राती चउरमा छरपस्ट अवस्थामा रहेको जानकारी आएपछि चोरी हुने संभावना रहेकाले लिएर आएका हौं ।’ सहायक प्रमुख जिल्ला अधिकारी माझीले भने । खाली शिलिण्डर पुनः फिर्ता गर्नुपर्ने भएपनि लापरबाही तरिकाले चउरमा राखिएको उनले बताए । ‘जिल्लामा अक्सिनको माग भइरहेको छ । मानव संवेदनशिलतालाई ख्यालै नगरी एकै ठाउँमा थुपारेर राख्नु कस्तो लापरबाही हो ?उनले भने ।
नगर उपप्रमुख रम्भा कुँवरले आईसोलेसन सञ्चालनको अन्तिम तयारी भइरहेका बेला अक्सिजन शिलिण्डर माग गरेर राखिएको बताईन् ।‘ ५० वटा शिलिण्डर भर्न लगेपनि नपाएपछि १० वटा मात्र भरेर ल्याएका थियौं । अरु शिलिण्डर १÷२ दिनमा भर्ने भनेर राखेका हौं ।’ कुँवरले भनिन् । २० बेडलाई आवश्यक पर्ने शिलिण्डरबाहेक अन्यलाई स्टक राख्ने भन्दै ल्याइएको उनले बताईन् । कर्मचारी नभएकाले शिलिण्डरलाई कोठामा राख्न नसकिएकाले चौरमा राखिएको उनले बताईन् ।