
परासी, जेठ १४ ः
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कोरोना संक्रमण बिरामीहरुका लागि एचडीयू सञ्चालनमा ल्याएको छ । यसअघि १९ बेडको आइसोलेसन निर्माण गरेर उपचार सेवा सुरु गरेको नगरपालिकाले थप १० बेडको एचडीयू सञ्चालनमा ल्याएको हो ।
एचडीयू सञ्चालन गर्न ७० लाख रुपैयाँ लागत लागेको छ । उक्त रकम नगरपालिकामा रहेको सर्वोत्तम सिमेन्ट उद्योगले उपलब्ध गराएको हो । एचडीयूमा २ जना चिकित्सक र १५ जना स्टाफनर्स गरी १७ जना स्वास्थ्यकर्मीहरु उपचारका लागि खटिएका छन् । जिल्लामै एचडीयू नहुँदा गंभिर बिरामीहरु बुटवल, भैरहवा र चितवन जानुपर्ने बाध्यता थियो । ति स्थानहरुमा समेत बेड अभावले उपचार पाउन समस्या भएपछि नगरपालिकाले एचडीयूको आवश्यकता महशुस गरेर सो सेवा सञ्चालनमा ल्याएको नगर प्रमुख भीम बहादुर थापाले बताए ।
एचडीयूमा अहिले गंभिर प्रकृतिका बिरामीहरुलाई राखेर उपचार गराउँदै आइएको छ । आइसोलेसन र एचडीयूमा अक्सिजन अभाव हुन नदिन नगरपालिकाले आफ्नै लगानीमा थप ६५ थान शिलिण्डर खरिद गरेको छ । अहिले नगरपालिकामा अक्सिजनको अभाव नरहेको नगर प्रमुख थापाले बताए ।
स्वास्थ्य संस्थामा आउन नपर्ने तर अक्सिजन आवश्यक भएका बिरामीहरुका लागि नगरपालिकाले औषधिसहित अक्सिजन घरमै पु¥याउने गरिएको नगर प्रमुख थापाको भनाई छ । त्यसैगरी अन्यन्त्र पठाउनुपर्ने बिरामीहरुका लागि नगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था समेत गरेको छ ।
आइसोलेसन र एचडीयूमा आउने सबै बिरामीहरु निको भएर घर जाने गरेको चिकित्सकहरुले बताएका छन् । बिरामीहरुका लागि अक्सिजनदेखि कुनै पनि औषधिको अभाव नहरको एचडीयूकी डा. सुरवी पुनले बताईन् ।

