
१५ जेठ, बुटवल ।
बुटवल धागो कारखानामा सञ्चालित कोभिड आईसीयू कक्ष लुम्बिनी प्रादेशिक अस्पतालको भवनमै सार्ने तयारी भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना संक्रमणको पहिलो लहर शुरु भएसँगै गत वर्षदेखि धागो कारखानाको भवनमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन गरेको थियो । पुरानो भवनको जस्ता पाता (टिन) जीर्ण भएर छानोबाट झरेको पानी फल्स सिलिङ हुँदै आईसीयू कक्षमा चुहिन थालेको थियो । वर्षा नरोकिंदा हिजोदेखि चुहिन थालेको पानीले आज पनि नर्सिङ स्टेशन र आईसीयू कक्षको केही भाग जलमग्न छ । जम्मा भएको पानी कर्मचारीले बाल्टीमा उठाएर निरन्तर फ्याँकिरहनु परेको त्यहाँ कार्यररत नर्स निशा दर्जीले बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र खनालले धागो कारखानाको आईसीयू कक्षलाई केही दिनमै प्रादेशिक अस्पतालको नयाँ भवनमै सार्ने तयारी भएको बताउनुभयो । नयाँ भवनमा २५ एचडीयू बेडको संरचना तयार छ । नयाँ भवनमा विद्युतीकरणको काम सकेर बढीमा तीन चार दिनभित्र कोरोना संक्रमित बिरामीलाई नयाँ भवनमै भर्ना गरिने उहाँले बताउनुभयो । धागो कारखानामा अहिले १५ बेड आईसीयू, ३६ बेड एचडीयू र ४ वटा भेन्टिलेटर बेड छन् । चिकित्सक र कर्मचारीहरु दुईतिर धाउनुपर्दा काम गर्न निकै गाह्रो भएकाले क्रमशः एचडीयू र भेन्टिलेटर बेड पनि अस्पतालमै सार्न उपयुक्त हुने भएकाले सोही अनुसार पहल भइरहेको डा. खनालले बताउनुभयो । तर संक्रमण दर बढेको अवस्थामा भने धागो कारखानाको छानो नयाँ हालेर पनि उपचार गर्नुपर्ने अवस्थाबारे पनि सोचिएको उहाँले बताउनुभया

