हिमपातले जनजीवन कष्टकर : हुम्लामा खाद्यान्न ढुवानी हुन सकेन

[sharethis-inline-buttons]

लुदअ माघ २१, हुम्ला
हिमपातले देशका विभिन्न ठाउँमा जनजीवन कष्टकर भएको छ ।

सुदूरपश्चिममा तेस्रो पटक हिमपात भएको छ । यसअघि माघ दोस्रो हप्ता र गएको पुसमा पनि सुदूरपश्चिमा उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको थियो ।

बैतडीका अनारखोली, सतबाँझ, मेलौलीलगायका क्षेत्र, डोटीको गैरा, डडेलधुराको भीमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ ।

हिमपातका कारण तीन वटा राजमार्ग बन्द भएका छन् । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग बन्द भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

सतबाँझ क्षेत्रको हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोड्पे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग बन्द भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । हिउँ पर्ने क्रम रोकिएको छैन । वर्षासँगै हिमपात भएपछि किसान भने खुसी भएका छन् ।

हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भएकाले किसान खुसी भएका हुन् ।

यसैबीच कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण हवाई उडान प्रभावित भएको छ । नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यान्न ढुवानी हिमपातका कारण रोकिएको छ ।

सरकारी तथा गैरसरकारी कार्यालयको सेवा पनि प्रभावित बनेको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो ।


प्रकाशित : २०७८ माघ २१, शुक्रबार ०७:५४