म नपुगेको `त्यो उज्यालो कर्णाली´

[sharethis-inline-buttons]

सबैले अँध्यारो देख्ने गरेको कर्णाली यि नियात्राकार प्रतीक ढकालले उज्यालो पो देखेछन् । यिनको नियात्रा नपढ्दा सम्म मैले पनि कर्णालीलाई निकै अँध्यारो मान्दै आएको थिएँ ।पूर्व झापामा हुर्केका थरले ढकाल ,पेशाले अधिकारी, अध्ययनशिलताले पाठक, बौद्धिकताले आचार्य यि नियात्राकार निकै जानकार रहेछन् कर्णाली बारे । सामान्य बोलचाल सम्म त ठिकै छ सिकेछन् ! तर कथा गीत चुड्किला खेलकुद सबै खस र डोटेली भाषामा ? यिनको यो पुस्तक प्रकाशन हुनुभन्दा पहिले पनि मैले संयोगले एउटा टेलीभिजन च्यानलमा यिनको अन्तरवार्ता हेरेको थिएँ । त्यस बखत  पनि म दङ्ग परेको थिएँ कि , एउटा झापाको व्यक्ति  कर्णाली सभ्यता र संस्कृतिको बारेमा निकै नै जानकार रहेछन् भन्ने लागेको थियो।
पुस्तकको शिर्षकले नै पढ्ने मन हुनेहरुलाई आकर्षण गरेको छ । कर्णाली त अँध्यारो हुनुपर्ने तर उज्यालो ? आखिर `य: कर्षते स: कृष्ण:´ अर्थात् , `जसले आकर्षण गर्दछ त्यो कृष्ण हो´ भन्ने लेखकीय दृष्टिकोणले वासुदेवको भूमिका पनि  यिनले निभाइहाले । एक मनले भन्दै थियो माथिल्ला सिँढिका सर्जकहरुका कृतिको के प्रतिक्रिया गर्नु ? तर स्कूले जीवन मै पनि त भानुभक्त , लेखनाथ र बालकृष्ण सम जस्ता विभूतिहरुका कृति उपर पनि त जानीनजानी सप्रसंग व्याख्या गरेकै त हो नि । अर्कोतिर लेखक स्वयंले अघोषित रुपमा मलाई प्रतिक्रिया दिने जिम्मा दिएका थिए , किनकि यिनको पुस्तकले बजार पिटेकै थियो र म पनि धेरै पाठकहरुका माझ अर्को एक पाठक थिएँ, त्यसैले यो पुस्तकका बारेमा प्रतिक्रिया पोख्नु पाठकीय दृष्टिकोणले उचित ठाँने  । जसरी सिनेमा हेरेपछि प्रत्येक दर्शकले उक्त सिनेमाको बारेमा समिक्षा गर्छन्, त्यसैगरी  हरेक पाठकले कृति पढेपछि समिक्षा गर्छन् । फरक त्यत्ति मात्र हो प्रतिक्रिया या समिक्षालाई फेरि अभिव्यक्तिको रुपमा लेख्नु या मनन मात्रै गर्नु ?  ।
हुन त म धेरै नै पढ्ने पठनाथ र प्रतिक्रियादि लेख्ने लेखनाथ पनि होइन, तर चर्चित पुस्तकहरु मध्येका केही सकारात्मक शिर्षकले भने मलाई निकै प्रभाव पार्ने गर्दछ । यदि यो पुस्तकको शिर्षक`त्यो अँध्यारो कर्णाली´ भएको भए मलाई खासै प्रभाव नपार्न पनि सक्थ्यो कि ? वास्तव मै  कर्णाली आफैमा निहित हजारौं संभाव्यताका बाबजुद पनि भौतिक बिकास तथा पूर्वाधारका दृष्टिले अँध्यारो नै छ , तापनि लेखकले प्राकृत रुपमा उज्यालो देख्नु उनको नियात्रा साहित्य क्षेत्रको अनुभव , लेखकीय निखारताका साथै उनको प्रकृति प्रतिको मोहपन नै अब्बल हो । जीवन र जगतको गहिराईलाई बुझेका यि लेखक व्यवहारिक पक्षमा पनि भानुभक्तको –
`त्यस घाँसीले कसरी आज दिए छ अर्ति।
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।। ´
भन्ने कविताको भाव जस्तै यिनले सेवानिवृत्त जीवन किर्तिमय बनाउन तल्लीन छन् । अक्षरको यात्रालाई अक्षय यात्रा भन्न रुचाउने नियात्राकार ढकाल कै `Beyond the Himalayas´ भन्ने कृति दशक अघि पढ्ने अवशर प्राप्त भएको थियो । खासगरी  हिमालसंग नजिकिने र हिमाललाई नै बढी चिनाउन खोज्ने ढकाल यहाँ भने कर्णाली सभ्यता,भाषा, संस्कृति , इतिहास र रारासंग निकै गहिरो पिरती गाँसेका छन्। यदि सिङ्गो कर्णालीको बिकासे भेल उर्लियो  भने पुरै  देशलाई कायापलट गर्ने क्षमता छ कर्णालीमा भन्ने कुरा  लेखकले प्रष्ट्याएका छन् ।

कर्णाली एक नदी मात्रै होइन यो त समग्र मानव सभ्यता हो भनी सिन्धुसभ्यता र मोहोन्जोदाडो सभ्यतासंग तुलना गरेर कर्णालीलाई काँधमा बोकेका छन् । सामान्य बर्तमान कालको बढी प्रयोग गरिएर लेखिएको यो पुस्तकले प्राय: पाठक स्वयंलाई कतै निकैबेर प्रतीक्षा गर्नुपरेको अनुभूति दिएको छ भने कतै पुस्तकका पात्र रानीसाब र मेजरसाबसंग संगै रारातालमा तैराएको छ र मदिरारूपी  राराको सौन्दर्यताले लठ्याएको छ । अँ साँच्चै ! पुस्तकमा फेला परेका पात्रद्वय मेजरसाब र मेजर्नीसाबले यो किताब पढे होलान् कि कतै ?
यिनको यो नवौं कृति रहेछ । पौने दर्जन पुस्तक सम्म आइपुग्दा निखारतामा त प्रश्नै रहेन । त्यो उज्यालो कर्णालीको पाण्डुलिपि घुम्दाघुम्दै तयार भएको रहेछ भन्ने बुझिन्छ ।  सायद यो पुस्तक  लेखनका लागि नै लेखक ढकाल  कर्णाली सयर गर्न गएका हुन् कि भन्ने आभास हुन्छ । भाषिक हिसाबले कतै `टिकटित´र कतै `जुजी´ जस्ता नयाँ शव्दहरुको न्वारन गर्न निकै खप्पिस  देखिन्छन् लेखक। बोलचालीको शैलीमा लेखिएको  यो पुस्तकमा कर्णालीको स्थानीय भाषाले निकै स्थान पाएको छ बेला बेलामा संस्कृतश्लोकहरु र आङ्लभाषाले समेत घुसपैठ गरेको छ। विद्यालयको साइनबोर्ड शुद्ध लेखेको देख्दा खुशी हुने लेखक कहिले राराको जलनिर्मलतामा रमाउँछन् भने कहिले भाषिक निखारतामा , कहिले कर्णालीबासीका व्यवहारमा नतमस्तक हुन्छन् भने कहिले कर्णाली संस्कृतिमा ।

केवल कर्णाली कै बारेमा मात्र लेखिएको नियात्रा कृति भित्रै पनि पाल्पा , गुल्मी , नवलपरासी, अर्घाखाँची आदि स्थानहरुलाई समेत स्मरणात्मक रुपमा कर्णाली भित्र घुसाउन सक्ने लेखकीय चातुर्यता निकै सह्रानीय छ । नयाँ भूमि स्पर्श गर्ने बित्तिकै निधारमा विभूति धारण गर्ने लेखकलाई दलहरूका नेतृत्व  प्रति भने  वितृष्णाको बादल मडारिएको  रहेछ। बेलाबेलामा तोकेरै गाली गर्न पछि हटेका छैन्न् ।
जे होस् , एकपटक यो पुस्तक पढ्नेको मनमा कर्णाली भ्रमणको तरंग कसो नउठ्ला ? यो कृति नेपाली नियात्रा  क्षेत्रको एक चर्चित पुस्तकका रुपमा सधैं छाइरहोस् । साधुवाद र शुभकामना छ ! देश दर्शन र विदेशाटन गरेका देशका विभिन्न स्थानलाई कर्मथलो बनाएका नेपालको हिमाल र प्रकृतिलाई `मया´ गर्ने एउटा बूढो तन्नेरी प्रकृतिप्रेमी नियात्राकार ढकाललाई ; जसको लेखनले मिनेट मिनेटमा घच्घच्याइरहेछ त्यो उज्यालो कर्णाली घुम्नला ।


प्रकाशित : २०७८ चैत्र ११, शुक्रबार १८:२२