लुदअ चैत १४, कोरिया
वैदेशिक रोजगारीको लागि कोरियामा रहेका नेपालीहरुले कोरोना भाइरस परीक्षणको किट्स पठाउने भएका छन् ।
खकारबाट कोरोना परीक्षण गरी तीन घण्टामै नतिजा दिन सकिने पाँच हजार किट्स खरिद गरेर नेपाल पठाउन लागिएको एनआरएनए कोरियाका महासचिव मनोज गौतमले जानकारी दिनुभयो । किट्स खरिदका लागि कोरियामा रहेका नेपालीहरुले ७० हजारभन्दा धेरै रकम सङ्कलन गरिरहेका छन् ।
यो क्रम अझै बढिरहेको र रकम धेरै भएमा किट्सका साथै अरु सामग्री समेत पठाइने महासचिव गौतमले जानकारी दिनुभयो ।
कोरियाबाट सिधा उडान नभएकोले चीनमा पठाउने र चीनमा रहेको टोलीले समन्वय गरेर भोलि नै नेपालमा किट्स पुर्याउने तयारी भएको महासचिव गौतमले बताउनुभयो ।
अहिले नेपालमा रहेको प्रविधिबाट कोरोना परीक्षण गर्दा नतिजा आउन कम्तीमा २४ घण्टाभन्दा धेरै लाग्ने गरेकोमा कोरियामा रहेको किट्सले तीन घण्टामा सजिलै नतिजा दिन सकिने जनाइएको छ । यही प्रविधिका कारण कोरिया सरकारले सडमकै परीक्षण शिविर चलाएर दैनिक १५ हजारभन्दा धेरैको जाँच गरेको थियो ।
कोरियामा नेपाली समय अनुसार १२ देखी १ बजेसम्म खाना खाने समय भएकोले त्यसबीचमा अझ सहयोग थपिन सक्ने र थप किट्स तथा अरु सामग्री थप्न सकिने गौतमले बताउनुभयो ।