लुदअ १६ चैत, वाग्लुङ
कोरोना भाइरसको संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक १७ वर्षीया किशोरीलाई धौलागिरी अञ्चल अस्पतालमा ल्याएर उपचार थालिएको छ ।
घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी युवतीलाई कोरोना पुष्टी भएसँगै अस्पतालको आइसोलेसन वार्डमा शनिबार भर्ना गराएर उपचार थालिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
संक्रमित किशोरीको अवस्था सामान्य रहेको र आत्तिनु पर्ने अवस्था नरहेको भन्दै गुरौले स्वाथ्यकर्मीकै प्रत्यक्ष निगरानीमा आइसोलेसनमा राखेको बताए ।
गत चैत्र १२ गते बागलुङ नगरपालिकाको पहलमा धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीको टोली घरमै पुगेर नमुना संकलन गरिएको थियो ।
ती युवतीले शुरुमा आफूलाई सामान्य ज्वरो आएको तर कठिन नभएकाले स्वास्थ्य परीक्षण समेत गर्न उनले आनाकानी गर्दै आएकी थिइन् ।
नमुना संकलन गरेर टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं पठाइएको स्वाब परीक्षणमा शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
बेल्जियमा आमा रहेकाले दुई महिना घुमेर गत चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।
त्यही विमानमा आएकी १९ वर्षीया काठमाडौंकी युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो ।