अबको २४ घण्टामा देशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

[sharethis-inline-buttons]

लुदअ भदौ १५, काठमाण्डौ
अबको २४ घण्टाभित्र देशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रदेश १ र प्रदेश २ मा भने रातिदेखि नै पानी परिरहेको छ । यो क्रम केही समय अझै जारी रहने छ । यस्तै पश्चिमका केही ठाउँमा पनि आंशिक बदली भएको र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ ।

यसैबीच, काठमाण्डौ र आसपास क्षेत्रको मौसम अहिले सामान्य बदली भएको छ । यस आसपास क्षेत्रमा बेलुकीपख सामान्यदेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

महाशाखाका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको छ । भारतको मध्यप्रदेश तथा आसपासको क्षेत्रमा न्यूनचापीय प्रणाली रहेको र त्यसै प्रणाली विस्तारै पश्चिम उत्तरपश्चिम दिशातर्फ सर्दै जाने देखिएको छ ।


प्रकाशित : २०७७ भाद्र १५, सोमबार ०२:११