मौसमः उच्च हिमाली भूभागमा हिमपात, प्रदेश १ मा सामान्य पानी पर्ने, तराईमा हुस्सु

[sharethis-inline-buttons]

लुदअ मंसिर २६, काठमाण्डौ
आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।

देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै प्रदेश १ को पहाडी भूभागका एकरदुई ठाउँमा सामान्य पानी पर्ने सम्भावनासमेत रहेको महाशाखाका मौसमविद्ले बताएका छन् ।

अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । नेपालमा पश्चिमी वायुको प्रवेशसँगै अरेबियन सागरको जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकोले मौसममा परिवर्तन आएको महाशाखाले जनाएको छ ।

यसका कारण देशका धेरै ठाउँको तापक्रम घटेको र तराईका धेरैजसो ठाउँमा बिहानैदेखि हुस्सु लाग्न सुरु भएको छ । तराई क्षेत्रमा हुस्सुका कारण सडक र हवाई यातायातमा प्रभाव पर्ने भएकोले विशेष सावधानी अपनाउन महाशाखाका मौसमविद्ले आग्रह गरेका छन् ।

यस्तै महाशाखाले निकालेको बुलेटिनअनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।


प्रकाशित : २०७७ मंसिर २६, शुक्रबार ०२:०६