बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानीले उपभोक्तालाई शुद्ध पानी खुवाएको जिकिर

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, कपिलवस्तु
बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम आज बाणगंगा १ उत्तम नगरमा रहेको खानेपानीको आफ्नै प्राङ्गणमा सम्पन्न भएको हो । “सफा पानी सफा बानी सहयोग पुर्याउने भूपू सैनिक खानेपानी, सफा पानी पिउ निरोगी बनौं” भन्ने मूल नारालाई आत्मासाथ गर्दै भएको कार्यक्रममा खानेपानीका सचिव कृष्ण बहादुर शाहीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष राममाया रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारकी पर्यटन ग्रामीण तथा शहरी विकास भौतिक पुर्वधार राजमन्त्री रिना नेपालले प्रदेश सरकारले खानेपानीको सवालमा अग्रसरता देखाउँदै बजेट विनियोजन गर्दै आएको बताए । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी राजमन्त्री नेपालले खानेपानीको मानव जीवनमा अहम भूमिका रहने भन्दै यसको स्वच्छताको लागी विभिन्न समयमा मर्मतसम्भार गर्दै जानुपर्ने बताईन ।

प्रदेश सरकारले विस्तृत डिपीआर निर्माण गरी खानेपानीको क्षेत्रमा अझ महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने उनको भनाई छ । प्रदेशका १२ वटा जिल्लामा प्रदेश सरकारको मातहतमा बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी प्रदेश स्तरिय प्रयोगशालाको रुपमा तयार भएको बताईएको छ ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानीलाई अझ व्यवस्थित बनाउन आफुले खेल्नुपर्ने भूमिका सशक्त रुपमा निर्वाह गर्ने बताए । सासंद पन्थीले भविष्यको मोडालिटी उपभोक्ता समितिमार्फत गई राज्यले पानी पुर्याउने नै रहेको बताए । अन्यत्र सरकारले आफै पानी दिन्छु भनेमा सबै लथालिङ्ग हुने उनले दाबी समेत गरेका छन् ।

यस्तै बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीले ल्याएका सबै कार्यक्रमहरु नगर बासिका लागि उचित र प्रभावकारि रहेको बताए । उनले भूपू सैनिक खानेपानी उपभोग गर्ने उपभोक्ताले शुद्ध पानी पाएको जिकिर गरे । कायक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनाल, संस्थाका सल्लाहकार तथा नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाइ लगाएतले बोलेका हुन ।

साधारण सभामा समितीका सचिव कृष्ण बहादुर शाहीले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन, कोषाध्यक्ष राममाया रानाले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन बन्द तथा खुलासत्रबाट पारित भएको छ । यस्तै कार्यक्रममा आन्तरीक लेखा परिक्षण प्रतिबेदन संयोजक कमल पौडेलले र पानी सुरक्षा समितीको प्रतिबेदन संयोजक निर्मल शाहीले प्रस्तुत गरेका थिए ।

कार्यक्रम समितीका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता, उपाध्यक्ष झलक मल्ल ठकुरीको स्वागत मन्तब्य र सचिव कृष्ण बहादुर शाही (विजय) को संचालनमा सम्पन्न भएको हो । संस्थाले यस बर्ष देखि पानी शुद्धिकरण प्रयोगशाला संञ्चालनमा ल्याएको छ ।

 


प्रकाशित : २०७८ पुष ३, शनिबार १८:५१