आर एन कार्की —
कपिलवस्तुको वाणगंगा नगरपालिका–२ स्थित कैलाश आश्रम नन्दनगरमा रहेको मनकामना संस्कृत विद्यापीठ (गुरुकुलम्) शनिबार भक्तिमय वातावरणले गुञ्जियो ।
कपिलवस्तु युवा भजन समूहको आयोजनामा सम्पन्न भजन–कीर्तन कार्यक्रममा गुरुकुल परिसर श्रद्धा, भक्ति र आध्यात्मिक ऊर्जाले भरिएको देखिन्थ्यो।
कार्यक्रममा गुरुकुलका आचार्य, ब्रह्मचारी विद्यार्थी, आश्रम परिवार, स्थानीय भक्तजन तथा धर्मप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भगवानप्रतिको अटल आस्था, सनातन धर्मप्रतिको समर्पण तथा नेपाली धार्मिक–सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धनलाई केन्द्रमा राखेर विभिन्न भजनहरू प्रस्तुत गरिएका थिए।
भजनका मधुर स्वर र मृदङ्ग, झ्याली तालसँगै गुरुकुल परिसर भक्तिमय बनेको थियो। सहभागी भक्तजनहरूले सामूहिक रूपमा भजनमा स्वर मिलाउँदै आध्यात्मिक आनन्दको अनुभूति गरेका थिए। कार्यक्रममा प्रस्तुत गरिएका भजनहरूले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र आध्यात्मिक मूल्यसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।
कपिलवस्तु युवा भजन समूहका संयोजक किरण पन्थीले यस्ता कार्यक्रमले समाजमा धार्मिक सद्भाव, नैतिक मूल्य र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने बताउँदै आगामी दिनमा पनि जिल्लाका विभिन्न धार्मिक स्थलहरूमा नियमित रूपमा भजन–कीर्तन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
कार्यक्रमका सहभागीहरूले आधुनिकताको प्रभावबीच ओझेलमा पर्न थालेका धार्मिक परम्परा र संस्कृतिलाई जीवन्त राख्न यस्ता आध्यात्मिक अभियान आवश्यक रहेको धारणा राखेका थिए।
भक्ति, श्रद्धा र सामाजिक सद्भावको सन्देश प्रवाह गर्दै सम्पन्न भएको उक्त कार्यक्रमले सनातन संस्कृतिको संरक्षण, धार्मिक जागरण तथा सामाजिक एकताको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।




















